नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गर्न नपाइने
2023-01-16 16:40:44cri
Share with:

नेपाल बस्नेलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाइएको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै नेपालमा बसोबास गर्नेले विदेशमा कुनै पनि क्षेत्रमा लगानी गर्न नपाइने कानूनी व्यवस्थाबारे ध्यानाकर्षण गराएको हो। तर नेपालमा बसोबास गर्ने कुनै नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म आफ्नो आर्जनबाट विदेशमा गरेको लगानीलाई भने प्रतिबन्ध नगरिएको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।  

 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ले गरेको व्यवस्थाअनुसार नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी विदेशमा घर–जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार गर्न पाइने छैन।

 

यस्ता कारोबार मात्रै होइन यससँग सम्बन्धित विषयमा प्रचारप्रसार समेत नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ। राष्ट्र बैंकले उक्त ऐनको दफा १२ बमोजिम विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको हो। सो दफाअनुसार निर्देशन दिने, विनियम बनाउने वा आदेश वा सूचना जारी गर्ने केन्द्रीय  बैंकको अधिकार छ नेपाल सरकारले दिएको कुनै निर्देशमा बाधा विरोध नपर्ने गरी बैंकले यो ऐनमा लेखिएका कुराहरू राष्ट्र बैंकले कार्यान्वयन गर्ने कार्य गर्दै आएको अन्नपूर्णपोस्टमा खबर छ।

 

आवश्यकताअनुसार समय समयमा निर्देशनहरू दिन वा विनियम बनाउन वा आदेश वा सूचना जारी गर्न सक्ने अधिकार भएकाले पहिल्यै भएको यो व्यवस्थालाई केन्द्रीय बैंकले प्रवर्द्धन गर्न खोजेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताउनुभयो।

‘कानूनले पहिल्यैदेखि नेपालमा बस्नेले विदेशमा लगानी गर्न रोक लगाएको छ। तर कसैले औपचारिक वा अनौपचारिक गरेको हुनसक्छ भनेर यसो नगर्न सूचित गरेको हो। साथै यसबारे कारबाही गर्ने निकायलाई पनि सहज होस् भनेर कानूनको इनफोर्समेन्ट (प्रवर्द्धन) गरेका हौं,’ उहाँले भन्नुभयो।

 

यसर्थ केन्द्रीय बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्नु/ नगराउनु हुन एवम् त्यस्तो कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने उहाँले बताउनुभयो।

 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० 'क' ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ 'ग' ले भुक्तानी दिन वा प्राप्त गर्नमा प्रतिबन्धसम्बन्धी व्यवस्था गरेको छ।

 

जसमा भनिएको छ, ‘ केन्द्रीय बैंकले तोकिदिएको व्यवस्थाबाहेक नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले देहायको कुनै काम गर्नु गराउनु हुँदैन। नेपाल बाहिर बसोबास गर्ने कुनै व्यक्तिलाई कुनै तरिकाले कुनै किसिमको भुक्तानी दिन, नेपाल बाहिर बसोबास गर्ने कुनै व्यक्तिको पक्षमा भुक्तानी पाउने अधिकार सिर्जना हुने वा हस्तान्तरण हुने गरी कुनै विनिमयपत्र वा प्रतिज्ञापत्र खिच्न, स्वीकार गर्न वा नेगोसियट गर्न वा कुनै ऋण स्वीकार गर्न, नेपाल बाहिर बसोबास गर्ने कुनै व्यक्तिको आदेशले वा निजको तर्फबाट कुनै व्यक्तिलाई कुनै किसिमको भुक्तानी दिन पाइने छैन।’

प्रचलित कानून बमोजिम कुनै व्यक्तिले विदेशमा लगानी गर्दा वा विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्दा राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिए बमोजिम गर्नु पर्नेछ। तर नेपालमा बसोबास गर्ने कुनै नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म आफ्नो आर्जनबाट विदेशमा गरेको लगानीलाई भने प्रतिबन्ध गरिएको छैन।