युवाले बनाए पानीको प्रदूषण हटाउने प्रविधि
2023-01-16 16:44:02cri
Share with:

ताल, पोखरी तथा सिमसारमा पानीको प्रदूषण हटाउन नेपालमै पहिलो पटक ‘एफटीडब्लूएस’ नामक वातावरणमैत्री प्रविधि प्रयोगमा ल्याइएको छ । ललितपुर महानगरपालिकास्थित नागदहमा ‘फ्लोटिङ ट्रिटमेन्ट वेटलेन्ड सिस्टम (एफटीडब्लूएस)’ को प्रयोग सुरु गरिएको हो । प्रविधिअन्तर्गत जराको माध्यमबाट पानीमा भएका प्रदूषक तत्त्वहरू हटाइन्छ । ‘द स्मल अर्थ’ नेपालको पहलमा नागदहका चार कुनामा ४० वटा एफटीडब्लूएस राखिएको छ । एउटा एफटीडब्लूएस ४/६ वर्ग फिटको राफ्ट आकार छ । त्यसमा ५० वटा बिरुवा राखिन्छ । हाल भने सर्वदा र ठूलो ल्वाङ फूलको प्रयोग गरिएको द स्मल अर्थ नेपालकी अनुसन्धानकर्ता असोरी ब्यान्जुले बताउनुभयो। ‘सिमसारको सुरक्षाका लागि हामीले पहिलोपटक यो जैविक विधि अपनाएका हौं,’ उहाँले भन्नुभयो।

 

राफ्टको माथिल्लो भागमा राखिएका फूलका जराले पानीको सतह छुने किसिमका छन् । दहमा आउने चराहरूले राफ्टमा क्षति पुर्‍याउन सक्ने भएकाले सुरक्षाका लागि बीचमा निगालोका मान्द्रा राखिएको छ । ब्यान्जुका अनुसार मान्द्रामा प्वाल खोपेर फूल राखिएको हो । बिरुवाका जरा पानीको सतहसम्म फैलिएका कारण बिरुवाले प्रदूषक तत्त्वहरू सोस्ने उहाँले बताउनुभयो।

प्रविधि पानीमा हुने इयुट्रोफिकेसन (सुपोषण) हटाउने काममा प्रभावकारी हुने विज्ञहरू बताउँछन् । सिमसार विज्ञ एवं त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक दीपनारायण शाहका अनुसार पानीमा हुने नाइट्रोजन र फोस्फोरसका कारण पोषक तत्त्व बढ्दै जाँदा लेउ (अल्गी) को वृद्धि हुन्छ । जसले पानीको सतहलाई पूर्ण रूपमा ढाकिदिन्छ । पानीका सतहलाई लेउलगायतका जलीय बिरुवाले ढाक्दा जलीय पारिस्थितिक प्रणालीलाई प्रत्यक्ष असर गर्छ । जलस्रोतमा सुपोषण धेरै हुँदा जलजीवनको स्वच्छतामाथि नकारात्मक प्रभाव पार्छ । नेपालमा पहिलो पटक प्रयोग भएकाले यो प्रविधिको प्रभावकारिताबारे अहिले नै भन्न सकिने अवस्था भने छैन । चीन लगायत मुलुकमा यो प्रविधि सफल भइसकेको कान्तिपुर अनलाइनमा खबर छ।