जर्मनीमा चिनियाँहरुका लागि वसन्त चाडको साङ्गीतिक गाला आयोजित
2023-01-16 11:22:09cri
Share with:

चीनको परम्परागत चाड वसन्त चाड नजिकिँदै आएको सिलसिलामा जर्मनीको उत्तरी भागमा रहेको हामबर्ग शहरले “सन् २०२३ उत्तरी जर्मनीको खरायो वर्षको साङ्गीतिक गाला” को आयोजना गरेको छ। चिनियाँ प्रवासीहरु, चिनियाँ मूलका विदेशीहरु, चिनियाँ विद्यार्थीहरु र जर्मन साथीहरु लगायत सयौँ व्यक्तिहरुले सो साङ्गीतिक गालाको अवलोकन गरेका छन्।

 

यो सन् २०१७ देखि निरन्तर रुपमा आयोजना हुँदैआइरहेको सातौँ पटकको उत्तरी जर्मनीको वसन्त चाडको साङ्गीतिक गाला हुनुका साथै विगत तीन वर्षयता आयोजित पहिलो पटकको अफलाइन कार्यक्रम पनि हो। हामबर्गका लागि चिनियाँ महावाणिज्य दूत छोङ वु सो कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुहुन्छ,

सन् २०२३ हामीले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको भावना अपनाउने पहिलो वर्ष हो। हामीले चिनियाँ शैलीको आधुनिकीकरणमार्फत चीन राष्ट्रको महान पुन:उत्थानलाई चौतर्फी रुपमा अघि बढाउने छौँ। चीन र विश्व सो महाधिवेशनबाट लाभान्वित हुने छन्। चीनले विदेशका लागि खुलापन नीतिको आधारभूत राष्ट्रिय नीति कायम राखेर आपसी हित तथा साझा जीत हुने खुला रणनीति अटलताका साथ पालना गर्ने छ। बाह्य क्षेत्रका लागि चीनको ढोका बन्द हुने छैन, बरु निरन्तर रुपमा खुला हुने छ। विश्वका शक्तिशाली मुलुकको रुपमा चीन र जर्मनीले हातमा हात मिलाएर विश्व शान्ति र विकासका लागि अरु बढी योगदान पुर्‍याउनुपर्छ।

 

हामबर्ग शहरको सरकारी कार्यालयकी प्रमुख कोरिना निएनदस्टेदले सन् २०२३ एक आशावादी वर्ष हुने ठहर गर्दै भन्नुहुन्छ,

मीठो अर्थ रहेको खरायो वर्षको हामी सँगसँगै स्वागत गरौँ। नयाँ वर्ष हामीले अरु घनिष्ठ आदान प्रदान र सम्पर्क गरी चीन र हामबर्ग बीचको असल सम्बन्धलाई अरु गहन पार्ने छौँ। आजको कार्यक्रममा सहभागी भएका सम्माननीय पाहुनाहरुले स्थानीय चिनियाँ समूदायका लागि धेरै सहयोग गर्दै जर्मनी-चीन मित्रतका लागि महत्त्वपूर्ण योगदान प्रदान गर्नुभएकोमा हामबर्ग शहरको सरकारले यसप्रति कृतज्ञता ज्ञापन गर्दछ।

 

साङ्गीतिक गालामा करिब १०० अभिनेता अभिनेत्रीहरुले प्रदर्शन गरेका थिए। दुई घण्टासम्म चलेको सो साङ्गीतिक गालामा चीन र जर्मनीका पेशागत अभिनेता अभिनेत्रीहरु, जर्मनीमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु, चिनियाँ भाषा सिकाउने विद्यालयका शिक्षक शिक्षिकाहरुले चिनियाँ जातिय विशेषतायुक्त कार्यक्रमको प्रदर्शन गरेका थिए भने दर्शकहरु चिनियाँ संस्कृतिको आकर्षणमा रमाएका थिए। सो वसन्त चाडको साङ्गीतिक गालाका निर्देशक वन चन यु जानकारी दिँदै भन्नुहुन्छ,

चालू वर्ष हामीले अफलाइनमा वसन्त चाडको साङ्गीतिक गालाको आयोजन गरेका छौँ। हाम्रो उत्तरी जर्मनी भागमा चिनियाँ प्रवासीहरु तथा चिनियाँ मूलका विदेशीहरुले सक्रियताका साथ साङ्गीतिक गालामा भाग लिएका छन्। त्यस बाहेक, हामीले धेरै जर्मन साथीहरुलाई प्रदर्शनमा सहभागी हुने निम्तो पठाएका थियौँ। विदेशमा बसे तापनि हामी मातृभूमिको सम्झना गर्छौँ। महान मातृभूमिको उत्तरोतर प्रगति र समृद्धि होस् हामी हार्दिक शुभकामना व्यक्त गर्छौँ।

 

धेरै वर्षको विकासपछि उत्तरी जर्मनीको वसन्त चाडको साङ्गीतिक गाला स्थानीय चिनियाँहरुले वसन्त चाड मनाउने ठूलो परिमाणको द्योतकरुपी कार्यक्रम बनिसकेको छ। यसका साथै अरु बढी सांस्कृतिक संस्था र जर्मन नागरिकहरु त्यसको तयारी कार्यमा सहभागी भएका छन्। जसबाट विदेशका विभिन्न क्षेत्रका व्यक्तिहरुले चिनियाँ संस्कृतिलाई मन पराएको देखिन्छ। नौ वर्षीय छोरीको साथमा रहेका बुवा फ्रान्क दुजमार भन्नुहुन्छ,

हामी अर्को शहरबाट आएका हौँ। यो मेरो लागि एक नयाँ अनुभव हो। म यसअघि वसन्त चाडको साङ्गीतिक गालामा सहभागी भएको छैन। यो साङ्गीतिक गाला निकै रोचक छ। सम्पूर्ण चिनियाँ साथीहरुलाई नव वर्षको शुभकामना दिन्छु।