सुनकोसीको जलयात्रा अफ सिजनमै आकर्षक
2023-01-17 16:29:38cri
Share with:

सुनकोसी नदीमा जलयात्रा व्यवसायको बलियो सम्भावना देखिएको छ। राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालनसँगै सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित मूलकोटमा रहेका होटलले सञ्चालन गरेको सुनकोसी नदी जलयात्रा (-याफ्टिङ) गर्न आउनेको सङ्ख्या बढ्दै गएको गोरखापत्र अनलाइनले लेखेको छ। बीपी राजमार्ग सञ्चालनसँगै मूलकोटमा सुविधा सम्पन्न होटल निर्माण गर्ने क्रम बढ्दै गएको छ।

मूलकोटका होटल व्यवसायी जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटक तान्ने अभियानमा जुटेको बताउँछन्। मूलकोटस्थित ताज रिसोर्टका सञ्चालक मनोज श्रेष्ठ विगत चार वर्षदेखि आफूले जलयात्रा व्यवसाय सुरु गरेको र सिजनमा आफूलाई भ्याइनभ्याइ नै हुने गरेको बताउनुहुन्छ।

“सिजनमा भ्याइनभ्याइ नै हुन्छ, ‘गुड फ्राइडे’ मनाउन काठमाडौँ र तराईबाट प्याकेजमा यात्रु आउँछन्,” उहाँले भन्नुभयो, “शुक्रबार र शनिबारमा एक हजारदेखि १५ सयसम्मले सुनकोसी नदीमा जलयात्रा गर्दै आएका छन्।”

सिजन भन्नाले माघदेखि असारसम्म बर्सातको मौसम सुरु नहुन्जेल रहेको र अहिले ‘अफ सिजन’ हुँदा पनि सन्तोषजनक रूपमा नै जलयात्रा चलिरहेको उहाँले सुनाउनुभयो। रिसोर्ट सञ्चालक श्रेष्ठका अनुसार मूलकोटका चार जना होटल सञ्चालक मिलेर ताज रिसोर्टको नाममा जलयात्रा व्यवसाय सञ्चालन गर्न पर्यटन बोर्डबाट लाइसेन्स लिएको श्रेष्ठले बताउनुभयो।  

जलयात्रा सुनकोसी गाउँपालिका–१, कुशेश्वर महादेव मन्दिरदेखि मूलकोटसम्म रहेको छ। जलयात्राका लागि १० वटा बोट (डुङ्गा)को व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। अरू होटल व्यवसायीले समेत जलयात्राका लागि गेस्टहरू दिने गरेको उहाँको भनाइ छ।

जलयात्रुको बीमा र सुरक्षाका सबै उपाय अनुसरण गरिएको उहाँले बताउनुभयो।  छ वर्षअघि जिल्लास्थित सरोकार निकाय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागले जिल्लाको कुशेश्वर दुम्जादेखि गोलन्जोर गाउँपालिका–६, बलेनीसम्म झन्डै ३५ किलोमिटर दूरीमा सुनकोसी नदीमा जलयात्रा सञ्चालनका लागि विशेष परीक्षण सम्पन्न भएको थियो।

सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोराले सुनकोसी नदी जलयात्राका लागि उपयुक्त देखिएको र गाउँपालिकाले पनि अनुमति दिएर सहयोग गरेको बताउनुभयो। आन्तरिक तथा बाह्य पर्यटनका लागि वैकल्पिक आकर्षक गन्तव्यका रूपमा सुनकोसी नदीमा -याफ्टिङ व्यावसाय सुरुवात गर्ने योजना रहेको अर्का होटल व्यवसायी मीन श्रेष्ठको भनाइ छ। 

सुनकोसी नदीमा जलयात्राका लागि आउने पर्यटकको स्वागत, सत्कार, खान बस्न, उपयुक्त होटह निर्माण, होमस्टे निर्माण तथा -याफ्टिङ गाइडलाई तालिम दिनेजस्ता कार्यमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ। जलयात्रामा आउनेका लागि सुनकोसी गाउँपालिकाको मूलकोट, खाल्टे, रामटार, बोहोरेटारमा आधुनिक र सुविधासम्पन्न होटल तथा रिसोर्ट खुलेका छन्।