नेपाल र चीनबीचको रसुवागढीबाट तीब्र चहलपहल हुँदा तातोपानी नाका पनि खुल्ने आशा
2023-01-17 16:25:22cri
Share with:

नेपाल र चीन जोड्ने चर्चित उत्तरी नाकामध्ये केरुङ (रसुवागढी) बाट पुस १३ यता निर्यात भइरहँदा तातोपानीमा आंशिक आयात हुँदै आएको सात वर्ष पुगिसकेको छ । केरुङसहित अन्य नाकाको चमक फर्किरहँदा पुरानो व्यापारिक केन्द्र र कैलाश मानसरोवर जाने मुख्य मार्ग तातोपानी प्राथमिकतामा नपरेको कान्तिपुर अनलाइनले लेखेको छ। अन्यमा झैं भौतिक संरचनामा पूरै तयार तातोपानीमा अत्याधुनिक भव्य सुक्खा बन्दरगाह भवन र ऐतिहासिक मितेरी पुल सुनसान रहेका छन् ।

भूकम्प र बाढीपहिरोले ध्वस्त कोदारी राजमार्ग २६ किमि अहिले चिनियाँ कम्पनी सीआरसीसीले पहिरो खण्डलाई मर्मतसम्भार गर्दै छ । भौतिक संरचनामा अन्यत्रझैं सहज वातावरण भए पनि तातोपानीबाट निर्यात र सर्वसाधारणका लागि खुल्दा यहाँका व्यवसायी र सरोकारवालाले ‘किन प्राथमिकतामा परेन तातोपानी ?’ भन्ने प्रश्न गरिरहेका छन्।

काठमाडौंबाट चीनको मुख्य व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी नाकाबाट १ सय ६४ किमि दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किमि कम दूरी पर्छ । चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि मुख्य भूमि चीनबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान छोटो समयमा भित्रने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । तर भूकम्प, बाढीपहिरो र कोभिडको अनेक बहानामा चीनले स्थल नाका हुँदै आएको सामग्री आयातनिर्यात व्यापारलाई पूरै निरुत्साहित गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत बताउनुहुन्छ ।

‘चीनले रसुवालाई प्राथमिकता दिएको छ, रसुवाबाट निर्यात खुलाइरहँदा तातोपानीबाट कन्टेनर आयातसमेत सहज बनाएको छैन । दिनहुँ तीनदेखि चार वटा कन्टेनर पठाइरहेको छ, यसलाई खासै प्राथमिकतामा राखेको देखिँदैन, त्यसैले हामीले धेरै पटक विभिन्न माध्यममार्फत सरकारलाई नाका सहज बनाउन पहलकदमी लिन अनुरोध गरिरहेका छौं,’ बस्नेतले भन्नुभयो।


चिनियाँ इलाका बजार क्षेत्रमा तीन वर्षदेखि जारी ल्हासा लकडाउन हटाइएपछि अहिले ल्हासा प्रशासनले ल्हासा मालवाहक रुट सुरक्षा प्रोटोकल अनिवार्य गरेको छैन । त्यतिबेला कोभिडको पहिलो लहरमा बन्द नाका चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित खुलाइएको थियो ।

चीनले मालवाहक सवारी रुटमा सुरक्षा प्रोटोकल अनिवार्य नगरेर आउजाउ खुकुलो बनाएसँगै निर्यात खुलाउने सम्भावना रहे पनि देखिने प्रगति नरहेको नेपालका लागि चीनको ल्हासास्थित महावाणिज्यदूत नवराज अधिकारीले जनाउनुभयो । ल्हासा प्रशासनसहित उच्च चिनियाँ अधिकारीसँग बसेर नाकालाई पुरानै अवस्थामा फर्काउन बैठक र छलफलका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । बाहिर नाका खुल्नेबारे हल्ला व्यापक चले पनि औपचारिक रूपमा माथिल्लो तहबाट सकारात्मक रहेको भन्नेबाहेक केही नआएको उहाँको भनाइ छ ।

केरुङमा आयातनिर्यात खुलेपछि तातोपानीमा त्यही हुने अनुमानमा झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनरदेखि होटल व्यवसायीसम्म आसमा छन् । नाका खुल्ने र व्यापार हुने उत्साहमा लिपिङ पुल छेउका होटल, पसल थापेर बसिरहेका व्यवसायी नाकामा कुनै चहलपहल नभएपछि निराश बनेका छन् । नाकालाई पूर्ण रूपमा खुलाउन र पूर्वाधार बलियो बनाउन हरसम्भव प्रयास गरिएको भोटेकोसी–२, तातोपानीका अध्यक्ष कुमार श्रेष्ठले जनाउनुभयो । यस नाकाबाट अहिले प्रतिदिन मुस्किलले चार वटा मात्रै कन्टेनर भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले बताउनुभयो।

अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रिन्थे । राजस्व पनि राम्रै संकलन भएको थियो । तर यस पटक लक्ष्यको ३० प्रतिशत मात्रै जम्मा भएको छ,’ उहाँले भन्नुभयो । चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य राखिएकामा ३० प्रतिशत अर्थात् एक अर्ब ३५ करोड मात्रै राजस्व उठेको उहाँले जनाउनुभयो ।