यो वर्ष काम खोज्न ८ लाख नेपाली विदेश जाँदै
2023-01-18 17:18:55cri
Share with:

चालू आर्थिक वर्षमा रोजगारी खोज्दै विदेश जाने युवाको संख्या आठ लाखभन्दा बढी हुने देखिएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत ६ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि विदेश जाने ८ लाख बढी हुने देखाएको हो । विभागका अनुसार गत ६ महिना (साउन-पुस) सम्ममा ३ लाख ९८ हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । यो श्रमस्वीकृति लिएर गएको तथ्यांकमात्र हो ।

 

श्रमस्वीकृति नलिई जानेको संख्या पनि हजारौंमा छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपालीहरु काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रुपमा काम गर्न जाने धेरै छन् । अमेरिकामा डिभी चिट्ठा परेर जानेहरु पनि काम गर्नका लागि नै हो । गत आर्थिक वर्षको पुससम्म २ लाख ९७ हजार ३५ जनाका लागि श्रमस्वीकृति जारी भएको थियो । यो वर्ष ३ लाख ३० हजारले श्रमस्वीकृति लिएको देखिन्छ ।

 

चालू आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मंसिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रमस्वीकृति लिएका छन्। विभागका निर्देशक छत्रबहादुर शाहले गत दुई वर्ष बन्द रहेको मलेसियाको रोजगारी खुलेको र कतार विश्वकपका कारण त्यहाँ जाने बढेकाले श्रमस्वीकृति लिनेको संख्या बढेको बताउनुभयो।

 

सरकारले हालैमात्र वैदेशिक रोजगारीमा जानेका लागि सातै प्रदेशबाट सबै सेवा दिने व्यवस्था लागू गरेको छ । यसले आगामी दिनमा विदेश जानेको संख्या झनै बढ्ने सम्भावना देखिन्छ । सरकारले केही दिन अघिदेखि विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीबाट वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि सम्पूर्ण व्यवस्था गरेको छ । यी स्थानमध्ये केही स्थानबाट सेवा दिन सुरु गरिएको छ भने केही स्थानमा पूर्वाधारका सामान मिलाउने काम भइरहेको कारोबार अनलाइनले जनाएको छ।

 

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष १ लाख १ हजार १ सय ७८ बढीले श्रमस्वीकृति लिएको विभागको तथ्यांकमा छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको बताए । पछिल्लो समय साउदी अरब जानेको संख्या भने घटेको छ । गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालू आवको छैटौं महिनामा समेत उच्च देखिएको छ ।

 

विभागका अनुसार साउनमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रमस्वीकृति लिएका थिए । पुसमा यो संख्या ६५ हजार ४ सय ६४ पुगेको छ । लकडाउनभन्दा अघि आन्तरिक रोजगारीमा संकुचन आए पनि गत एक वर्षयता वैदेशिक रोजगारमा जानेको संख्या प्रत्येक महिना बढेको छ । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म कायम रहेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन सहज गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक फेरि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको छ ।

 

नेपालको प्रमुख आयस्रोतका रुपमा रहेको वैदेशिक रोजगार गत दुई वर्ष घटे पनि अहिले लयमा देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ । गत आर्थिक वर्षभरमा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३६ हजार पुगेको थियो । यो त्यसअघिको वर्षका तुलनामा ३.६८ गुणाले बढी थियो । अघिल्लो आवमा १ लाख ६६ हजार ६ सय ९८ युवाले विदेश रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । यस्तै, आव २०७६/०७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४ सय ३३ रहेको विभागको तथ्यांक छ ।