उद्योग दर्ता घट्यो, वैदेशिक लगानी आधा
2023-01-19 16:16:34cri
Share with:

चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको समस्याका कारण उद्योग दर्ता पनि घटेको छ। गत आर्थिक वर्षका सुरुका ६ महिनामा भएका उद्योग दर्तासँग तुलना गर्दा यो वर्ष कम देखिएको हो । उद्योग दर्ता गर्ने घटेसँगै वैदेशिक लगानी प्रतिबद्धतामा पनि झन्डै ५० प्रतिशतले कमी आएको छ ।

 

उद्योग विभागका अनुसार पुससम्ममा १ सय ४५ उद्योग दर्ता भएका छन् । यी उद्योगका लागि १ खर्ब ३९ अर्ब प्रस्तावित लगानी स्वीकृत गरिएको छ । अघिल्लो आवको सोही अवधिमा १ सय ५५ उद्योग दर्ता भएका थिए । त्यसबेला यी उद्योगहरुले १ खर्ब ९० अर्ब लगानी गर्ने भनेका थिए ।

 

विभागका अनुसार प्रत्यक्ष वैदेशिक लगानीमा पनि भारी गिरावट आएको छ । पुससम्म कुल प्रस्तावित विदेशी लगानी १७ अर्ब ३० करोडमा सीमित भएको छ । अघिल्लो पुससम्ममा यस्तो लगानी ३० अर्ब ५६ करोड रुपैयाँ थियो । यद्यपि, विदेशी लगानीका परियोजना स्वीकृति संख्या भने बढेको पाइएको छ ।

 

अघिल्लो वर्ष १२९ परियोजना स्वीकृत भएकोमा यस वर्ष १३१ को संख्यामा स्वीकृत भएका छन् । सरकारले यसै आर्थिक वर्षदेखि वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजना भित्रने क्रम बढेको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउनुहुन्छ। वैदेशिक लगानी घट्नुमा विश्वव्यापी देखिएको आर्थिक मन्दी नै मुख्य कारण रहेको उहाँको भनाइ छ । उहाँका अनुसार रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक संकटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर परेको छ भने आन्तरिक अर्थतन्त्रमा समस्या देखिँदा लगानीका थप अवसरहरु विस्तार हुन सकेको छैन। पुससम्म विदेशी लगानीका साना उद्योग बढेका छन् । अघिल्लो पुससम्म ९० को संख्यामा दर्ता भएका विदेशी लगानीका साना उद्योग यस वर्ष ११० वटा दर्ता भएको तथ्यांक छ।

 

यस्तै, स्वदेशी लगानीका साना औद्योगिक परियोजनामा पनि वृद्धि भएको छ । अघिल्लो पुसमा ५२ वटा परियोजना दर्ता भएकोमा अहिले ६५ पुगेको छ । यद्यपि, ठूला र मध्यम स्तरका परियोजना दर्ता भने घटेका छन् । उद्योग विभागमा स्वदेशी र विदेशी लगानीमा हालसम्म ८ हजार ९ सय ९ औद्योगिक परियोजना दर्ता भएका छन् भने यी उद्योगमा २७ खर्ब ६६ अर्ब लगानी स्वीकृत भएको छ ।

 

जसमध्ये विदेशी लगानीका परियोजना मात्र ५ हजार ६ सय ६४ रहेका छन् । यी उद्योगबाट ६ लाख ६७ हजार ३ सय २३ को संख्यामा रोजगारी सिर्जना हुने उल्लेख भए पनि प्रतिबद्धताअनुसार लगानी हुन नसक्दा परिणाम निराशाजनक रहेको छ । सरकारले उद्योग दर्ता गर्ने तर लगानी प्रतिबद्धताअनुसार भित्र्याउन नसक्नेलाई दर्ता खारेजीसम्मको चेतावनी दिँदै आए पनि लगानीकर्ताले विभिन्न बहाना देखाएर उद्योग व्यवसाय स्थापनाको काम अघि बढाउन सकेका छैनन्। कारोबार।