चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनःस्थापना र विस्तार गर्ने प्रधानमन्त्री दाहालको प्राथमिकता
2023-01-20 16:42:10cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ महामारीपछि कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनःस्थापना र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले बिहीबार बालुवाटारमा भएको नेपाल–चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त कुरा बताउनुभएको हो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले धेरैभन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउने तथा लगानी र व्यापारिक सम्बन्धसमेत विस्तार गर्ने सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

 

कोभिड–१९ महामारीपछि चीनले बाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध स्थापना गरिसकेको चर्चा गर्दै उहाँले त्यसबाट नेपालले लाभ लिन सक्ने वातावरण निर्माणका लागि पहल गर्ने जानकारी गराउनुभयो।

 

भेटमा सङ्घको प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने तथा यसका लागि सरकारले पहल गर्नुपर्ने विषयमा विभिन्न सुझाव दिएको थियो । सङ्घका अध्यक्ष तुलाधरले चीनसँगको स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा सरकारले चिनियाँ पक्षलाई सहमत गराउनुपर्ने सुझाव दिनुभयो।

 

द्विपक्षीय व्यापार अभिवृद्धिमा भुक्तानीको समस्या भइरहेका कारण नेपालमा चिनियाँ बैङ्कको शाखा स्थापना गर्नुपर्ने तथा यसबाट व्यापार र लगानी वृद्धिमा सहयोग पुग्ने अध्यक्ष तुलाधरले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो।