नेपालमा ६ महिनाको बीचमा १० वटा एक सिंगे गैंडा मारिए
2023-01-21 19:23:46cri
Share with:

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० वटा एक सिङ्गे गैँडा मरेका छन्। चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैंडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।

 

शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका दुईसहित मरेका गैंडाको सङ्ख्या १० पुगेको हो। सूचना अधिकारी तिवारीकाअनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुवै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् ।

 

मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको हो । अर्को अन्दाजी चार वर्षको बच्चा गैंडाको भने खाग सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो।

अनलाइन खबरका अनुसार तस्करले माउ गैंडालाई थापेको धरापमा परेर बच्चा गैंडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताउनुभयो। खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ ।