कोरियामा नेपाली श्रमिकको माग तीन गुणा बढ्यो
2023-01-23 16:03:37cri
Share with:

अन्य १६ देशको तुलनामा रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत कोरिया जाने नेपालीको माग तीन गुणाले बढेको छ। माग संख्या बढेपछि सरकारले मासिक उडान संख्यासमेत बढाउने तयारी गरेको छ। कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोष्टर (योग्य श्रमिक सूची) मा रहेका नेपालीको माग ३ गुणाले बढेको कारोबार अनलाइनले लेखेको छ

वैदेशिक रोजगार विभाग इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले नेपाली युवाको माग बढेसँगै मासिक २ हजार कोरिया पठाउने योजनासहित शाखाले काम गरिरहेको बताउनुभयो। यसअघि कम्बोडियाले कोरियामा धेरै श्रमिक पठाउँदै आएकोमा हाल नेपाल १६ मध्ये उत्कृष्ट भएको शाखाले जनाएको छ। नेपालबाट जाने श्रमिकको प्रक्रिया छिटोछरितो हुने गरेका कारण पनि कोरियाले नेपालबाट श्रमिक लैजान कोटासमेत थप गरेको छ।

कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा सन २०२३ थप कामदार लैजान यसअघि छुट्याइएको ३ हजार कोटा बढाएर १० हजार ७५८ युवा लैजाने भएको शाखाले जनाएको छ। यसका लागि शाखाले २ चरणमा गरेर ३७ हजार २७४ को लागि पुस १८ गतेदेखि परीक्षा तयारी गरेको छ। कोभिड संक्रमणपछि अघिल्लो कात्तिकबाट हालसम्म लगभग १५ हजार युवा कोरिया प्रवेश गरिसकेको शाखाले जनाएको छ।

कोभिड संक्रमणपछि कोरियामा विदेशी श्रमिकको चरम अभाव भएपछि उसले नेपालबाट लैजाने श्रमिकको कोटा पुनः बढाएको शाखाले जनाएको छ। कोरिया जाने नेपाली युवाको माग संख्या बढेर १५ महिनामा १५ हजार पुगेको छ। इपिएस शाखाका अनुसार कोरियाले अगामी वर्षका लागि नेपाललगायत विभिन्न १६ राष्ट्रबाट १ लाख भन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको छ। जसमध्ये नेपालबाट ठूलो संख्यामा श्रमिक लैजाने तयारी सहित माग गरिरहेको शाखाले जनाएको छ।

कोरियाले सन २०२३ देखि देशगत रुपमा कोटा निर्धारण नगरी छिटो श्रमिक पठाउने देशबाट धेरै श्रमिक लिने नीति लिएका कारण पनि नेपालबाट मासिक २ हजारको हाराहारी श्रमिक माग भएको हो। कोरियाले यो वर्ष इपिएस अन्र्तगत उत्पादनमूलक क्षेत्रको संख्या समेत दोब्बर थपसमेत गरिसकेको छ। इपिएस अन्र्तगत कोरिया जाने नेपाली युवाको छनोट संख्या थप ८ हजारबाट बढाएर १४ हजार ९१३ पुर्‍याएको छ।

कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको कोरियाको रोजगारीमा बिगत १५ महिनाको तथ्यांक हेर्दा मासिक औसत १ हजार युवा कोरिया प्रवेश गरेको देखिन्छ। शाखाले अब यो संख्या मासिक २ हजार पुग्ने जनाएको छ। अघिल्ला वर्षमा वार्षिक ७ हजारको हाराहारी नेपाली युवा कोरिया जाने गरेकोमा कोरोना संक्रमण पछि कात्तिकयता १ वर्षमा नै १२ हजार युवा कोरिया गएका छन्।

नेपालले भाषा परीक्षामा हुँदै आएको नक्कली क्रियाकलाप नियन्त्रण गरी सबै सेवा अनलाइन गरेका कारण श्रमिक समयमा नै कोरिया प्रवेश गर्ने गरेका कारण पनि कोरिया नेपालप्रति सकारात्मक भएको शाखाको भनाइ छ। कोरिया प्रवेश गर्ने संख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात सन २०२० मा १ हजार २७ रहेको थियो। वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन सर्वजनिक गर्दै नेपाली श्रमिकको आर्कषक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ।

नेपालबाट सन २०१७ बाट क्रमस ७ हजार ८००, सन २०१८मा ८ हजार ५११ र सन २०१९ मा ७ हजार १३६ श्रमिक कोरिया गएको विभागले जनाएको छ। त्यसपछि कोरोना संक्रमणका कारण उडान बन्द हुँदा २ वर्ष न्यून संख्यामा मात्र श्रमिक कोरिया प्रवेश गरेका थिए। कोरियामा उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रमा ३८ हजार नेपाली कार्यरत छन्। पछिल्लो समय सरकारले कोरिया जाने हवाई टिकटको मूल्यसमेत १ हजार २१५ डलरबाट घटाएर ८९५ डलर बनाएपछि जाने श्रमिकका लागि सहज भएको छ।