टीकापुरमा ४० करोड रुपैयाँको लागतमा खुल्यो प्लास्टिक उद्योग
2023-01-23 16:05:16cri
Share with:

कैलालीको जानकी गाउँपालिका वडा नम्बर १ बेलासपुरमा ४० करोडको लागतमा टीकापुर प्लास्टिक उद्योग खुलेको छ। स्थानीय युवाहरू नवराज भट्टराई र मुकेश बमले संयुक्त लगानीमा खुलेको उद्योगले प्लास्टिकको डोरी उत्पादन गरेर बजारमा पठाएको गोरखापत्र अनलाइनले लेखेको छ।

उद्योगले प्लास्टिकका दुई एफएमदेखि ३६ एफएमसम्मका २१ प्रकारका प्लास्टिकका डोरी उत्पादन सुरु गरी बजारमा पठाउन थालेको छ। साथै प्लास्टिकका बोरामा छ वटा रङसहितको छपाइ, सिलाइ र कटिङ गरेर माग अनुसार उपलब्ध गराउन थालेको छ। उद्योगले प्रतिघण्टा १५० किलोका दरले दैनिक साढे तीन टन डोरी र दैनिक तीन टन बोरा उत्पादन भइरहेको उद्योगका सञ्चालक नवराज भट्टराई बताउनुहुन्छ। २४ सै घण्टा चल्ने उद्योगमा उत्पादनतर्फ १७ जना भारतीय र २३ जना नेपालीले काम गरिरहेका छन्। चार बिघा जमिनमा खुलेको उद्योगमा जर्मनीमा निर्मित उपकरणहरू जडान भएका छन्।

उद्योगमा डोरी बनाउन आवश्यक पर्ने कच्चा पदार्थ भारतका रिलाइन्स, ओपल र इन्डियन आलयबाट आइरहेको छ भने बोराहरू शिवम र जगदम्बा प्लास्टिक उद्योगबाट ल्याएर लोगो छपाइ र सिलाइ गरेर यस क्षेत्रका अन्य उद्योगलाई उपलब्ध गराउन थालेको छ।

एक महिनाको अवधिमा उत्पादित डोरी नेपालभित्र नारायणघाट काठमाडौ विराटनगर र भारतको सिलगुडीसम्म पठाइसकेको र केही दिनमा भारतको उत्तराखण्ड र हरियाणा पठाउने तयारी भइरहेको छ।

उद्योगले सुतली (पातलो डोरी) पनि उत्पादन थालेको छ। वीरगन्ज र बुटवलबाट प्रशोधन गरी पठाएको दाना प्रयोग गरी सुतली बनाइरहेको छ। उद्योगले यसै वर्ष प्लास्टिकलाई प्रशोधन गर्ने तयारी गरिरहेको छ। उद्योगले नै प्लास्टिक प्रशोधन गरेमा स्थानीय तहमा प्रयोग भइ सकेपछिको प्लास्टिक प्रयोगमा आउने र प्रदूषण घट्ने उद्योगीको भनाइ छ।

टीकापुर प्लास्टिक उद्योगमा निर्मित वस्तुहरू यसअघि बजारमा उपलब्धमध्ये गुणस्तरीय भएको व्यापारीले बताएका छन्। १७ वर्षदेखि प्लास्टिकको व्यापार गरिरहनुभएका अवसर प्लास्टिक हाउस टीकापुरका सञ्चालक अमर चौधरी नेपालमा यो गुणस्तरको सामान यसअघि बजारमा नआएको र मूल्य पनि तुलनात्मक रूपमा सस्तो भएकाले उपभोक्ताले रुचाएको बताउनुहुन्छ। यस्तै बीएम फुड्स टीकापुरका सञ्चालक विजय न्यौपाने बोरामा डिजिटल छपाइ पाइएको र यसअघि बाहिरबाट छापेर पाइने भन्दा सस्तो पर्न गएको बताउनुहुन्छ। नेपालभित्र र नेपालबाहिर खुला बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्य रहेकाले उत्पादित सामानको गुणस्तर राम्रो हुने उद्योगीको भनाइ छ।