रेलवे अध्ययन गर्न ठाउँ हेरी फर्कियो चिनियाँ टोली
2023-01-24 15:42:28cri
Share with:

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली चीन फर्किएको छ । तीन साता नेपाल बसेर सम्भाव्यता अध्ययन कसरी गर्ने, भौगोलिक अवस्था के–कस्तो छ आदि विषयमा टोलीले रेल विभागका इन्जिनियरसँग जानकारी लिएको कान्तिपुर अनलाइनले लेखेको छ।

गत पुस २५ र २६ मा रसुवा पुगी अध्ययन गर्ने ठाउँसमेत हेरेर टोली फर्किएको छ । अध्ययनका लागि आएको प्राविधिक टोली चिनियाँ नयाँ वर्ष मनाउन तीन दिनअघि बेइजिङतर्फ गएको विभागका महानिर्देशक रोहित बिसुरालले जनाउनुभयो।

‘प्राविधिक टोली नआउँदासम्म अन्योल नै थियो । तर अब अन्योल छैन, अध्ययनको काम सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘प्राविधिक टोलीले अध्ययन गर्ने ठाउँ हेरेर फर्किएको छ । चिनियाँ नयाँ वर्ष मनाएर आएपछि अध्ययनको काम अघि बढ्छ ।’ प्राविधिक टोली फागुन दोस्रो सातातिर नेपाल फर्किनेछ । ‘अहिले ठाउँ हेर्ने काम मात्र भयो, दुई दिन लगाएर आयोजना क्षेत्रको सामान्य जानकारी लिने काम पनि भएको छ,’ उहाँले भन्नुभयो, ‘जसका लागि प्राविधिक स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीसम्म पुगेको थियो ।’

चीनबाट आएको टोलीसँग रेल विभागका महानिर्देशक बिसुरालसहित विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारलगायत अधिकारी रसुवा पुग्नु भएको थियो । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि गत पुस १२ मा चिनियाँ प्राविधिक टोली काठमाडौं आइपुगेको थियो । दुई देशबीचमा रेलमार्ग निर्माणको आर्थिक मोडालिटीबारे टुंगो नलागे पनि सम्भाव्यता अध्ययनको सम्पूर्ण खर्च भने चीन सरकारले बेहोर्ने प्रतिबद्धता गरेको छ । चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक अध्ययनका लागि आएका थिए । उक्त रेलमार्गको चर्चा निकै पहिलादेखि भए पनि यसमा थप प्रगति हुन सकेको छैन । प्रारम्भिक अध्ययनअनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्नेछ ।

दुई वर्षअघिदेखि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि कोभिडका कारण चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने जनाइएको छ । गत २०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसमा दुई देशका उच्च अधिकारी सहमत थिए । तर त्यसपछि अध्ययनका लागि चिनियाँ टोली आएनन् । उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७५ मंसिरमै भएको थियो ।

२०७६ असोजमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नु भएको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए । ‘प्राविधिक टोली आएर अध्ययन गर्ने ठाउँमै पुगिसकेकाले अब अध्ययनको कामले गति लिनेछ,’ बिसुरालले भन्नुभयो ।

प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले गत वैशाखमा पत्रकार सम्मेलनका क्रममा नेपाल र चीनबीचको रेलको सम्भाव्यता अध्ययन गर्न ५ देखि ६ वर्ष लाग्न सक्ने बताउनु भएको थियो। गत वैशाख पहिलो साता चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ लाई अन्तर्वार्ता दिने क्रममा राजदूत हउ यान्छीले प्रारम्भिक अध्ययनअनुसार प्रतिकिमि सुरुङ निर्माण गर्न अनुमानित ३ अर्ब ७० करोड लाग्ने जनाउनु भएको थियो। यसअनुसार उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमान छ । तर अहिलेसम्म निर्माणमा खर्च, समय कति लाग्ने भन्नेबारे केही आएको छैन ।

‘पहिला प्रारम्भिक अध्ययन मात्र भएकाले धेरै कुरा आउन सकेन,’ उहाँले भन्नुभयो, ‘सम्भाव्यता अध्ययनपछि यी सबै कुरा आउँछन् ।’ केरुङ–काठमाडौंसँगै चर्चामा रहेको रक्सौल–काठमाडौं रेलमार्गको भने फाइनल सर्भे गत असोजमा सकिएको छ । पाँच महिनाभित्र यसको प्रतिवेदन तयार पारिने रेल विभागले जनाएको छ । सर्भेअनुसार उक्त रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।