आठ खर्बको आयात हुँदा ८० अर्बको निर्यात
2023-01-24 15:43:58cri
Share with:

नेपालमा आठ खर्ब रुपैयाँको वस्तु आयात हुँदा जम्मा ८० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको समेत आयात बढ्दा आयात–निर्यातको खाडल बढेको कान्तिपुर अनलाइनले लेखेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको छ । जब कि यही अवधिमा जम्मा ८० अर्ब ८० करोड रुपैयाँको मात्रै निर्यात भएको छ । ६ महिनामा आयात र निर्यात दुवै घटेको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७८/७९ मा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएकामा ०७९/८० को ६ महिनामा २०.६८ प्रतिशतले घटेको छ । ०७८/७९ मा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएकामा ०७९/८० को पहिलो ६ महिनामा ३२.०१ प्रतिशतले घटेको छ । ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो ।

गत वर्षको पहिलो ६ महिनाको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । विलासिताको वस्तुसँगै कृषिजन्य वस्तुको समेत आयात बढ्दा व्यापार घाटा उच्च देखिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात बन्देज गरेको थियो । मुद्रा सञ्चितिमा झिनो सुधार आएपछि गत मंसिर मसान्तदेखि भने आयात खुला गरेको थियो ।

विलासिताका वस्तुको आयात बन्देज हुँदा आयातमा केही सुधार आएको हो । यद्यपि निर्यात पनि घट्नु चिन्ताजनक रहेको सरोकारवाला बताउँछन् । स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको उत्पादन बढाउन नसक्दा कृषि उपजको आयात बढेको छ । फलस्वरूप घाटा बढ्दै गएको हो । सरकारले घोषणा गरेको तुलनात्मक लाभका वस्तुबाट पनि देशले पर्याप्त फाइदा लिन सकेको छैन । गुणस्तरीय उत्पादन हुन सकेको छैन । फलस्वरूप व्यापार घाटा बढ्दै गएको छ । करिब १ सय ४१ मुलुकसँग वैदेशिक व्यापार हुन्छ । तर साढे २ दर्जन मुलुकसँग मात्रै व्यापार नाफा छ । त्यो पनि नगण्य रूपमा रहेको विभागको तथ्यांक छ ।

व्यापार घाटा बढ्नुको प्रमुख कारण उत्पादन र उत्पादकत्व बढाउन नसक्नु हो । तुलनात्मक लाभका वस्तुलाई रणनीतिक रूपमा अघि बढाउन नसक्दा पनि घाटा बढेको हो । यीबाहेक दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्यका नाताले बहुपक्षीय व्यापार सुविधालाई सदुपयोग गर्न नसक्दा पनि घाटा बढेको हो ।

आयात हुने वस्तुमध्ये सबैभन्दा अगाडि डिजेल रहेको विभागको तथ्यांक छ । ६ महिनामा ७० अर्ब १० करोडको डिजेल आयात भएको छ । दोस्रोमा पेट्रोल ३३ अर्ब ५३ करोडको आएको छ । इन्धन तथा विलासिताका वस्तुको आयात पनि अस्वाभाविक रूपमा बढेको छ । विलासिताकै वस्तुको सूचीमा रहेको सुन पनि अस्वाभाविक रूपमा आयात भएको देखिन्छ ।

६ महिनामा २९ अर्ब २० करोडको सुन आयात भएको विभागको तथ्यांक छ । व्यवसायीहरूले भने मूल्य बढेका कारण आयात बढी देखिएको दाबी गर्छन् । सुन प्रतितोला मूल्य १ लाख रुपैयाँभन्दा बढी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । परिमाणमा आयात वृद्धि नभए रकम भने अस्वाभाविक रूपमा बढेको देखिएको छ । चौथो नम्बरमा खाना पकाउने एलपी ग्यास २८ अर्ब २० करोड रुपैयाँको आयात भएको छ । भटमासको तेल कच्चा आयातमा २३ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ ।

आयातित भटमासको कच्चा तेल व्यवसायीले रिफाइन गरेर पुनः भारत पठाउँदै आएका छन् । शुद्ध फलाम आयातमा १९ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको छ । ६ महिनामा १६ अर्ब २२ करोडको कच्चा पाम तेल र १४ अर्ब ३२ करोडको मोबाइल टेलिफोन आयात भएको छ । निर्यातको हकमा सबैभन्दा अगाडि प्रशोधित पाम तेल नै छ । ६ महिनामा १३ अर्ब ८ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रो नम्बरमा भटमासको प्रशोधित तेल ८ अर्बको निर्यात भएको विभागको तथ्यांक छ । मुलुकको समग्र व्यापार खाने तेल (भटमास, सनफ्लावर, पाम) ले धानेको जानकारहरू बताउँछन् । कच्चा पदार्थको आयातमा छुट र निर्यातमा प्रोत्साहन पाएको यी वस्तुले समग्र निर्यात–आयात व्यापारलाई बढाइदिएको उनीहरूको भनाइ छ ।