सार्वजनिक संस्थानलाई मितव्ययी बन्न नेपालका उपप्रधान तथा अर्थमन्त्रीको आग्रह
2023-01-25 15:59:41cri
Share with:


नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानहरूले आर्थिक मितव्ययिता, फजुल खर्च कटौती र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क स्थापनाको ५८औँ वर्षमा प्रवेशका अवसरमा मङ्गलबार राजधानी काठमाडौँमा आयोजित समारोहमा उहाँले सार्वजनिक संस्थानहरूले अर्थतन्त्र जोगाउनका लागि खर्च कटौती गर्नुपर्ने बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। अर्थतन्त्र चलायमान बनाउन आर्थिक वृद्धि आवश्यक रहेको भन्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताउनुभयो।

बैङ्किङ सेवाप्रति ग्राहकको आकाङ्क्षा तीव्र रूपमा परिवर्तन भएको सन्दर्भमा रावा बैङ्कले आफ्ना सबै प्रकारका ग्राहकको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी सेवासुविधामा गुणस्तरीयता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। आफ्ना सेवालाई अझ भरपर्दो विश्वसनीय, सुरक्षित तथा ग्राहकमैत्री बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

राष्ट्रिय वाणिज्य बैङ्कलाई नाफामा मात्रै ध्यान नदिन आग्रह गर्दै उहाँले सरकारको लगानी रहेको बैङ्कले सार्वजनिक हितमा पनि ध्यान दिनुपर्ने औँल्याउनुभयो। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रका बैङ्कको मर्जरमा राष्ट्र बैङ्कले बाध्यात्मक व्यवस्था नगरे पनि अहिलेको व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सरकारी स्वामित्वका तीन बैङ्क (नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क) पनि मर्जरमा जान सक्ने बताउनुभयो। “सरकारी बैङ्कहरू पनि व्यावसायिक आवश्यकता महसुस गरेर आफ्नो सञ्चालक समितिमा छलफल गरी मर्जरमा जानु अहिलेका लागि उपयुक्त समय हो,” उहाँले भन्नुभयो, “यो दबाब होइन, सुझाव हो।”

राष्ट्र बैङ्कले अहिले डिजिटल बैङ्किङ कारोबारलाई बढाएको भन्दै कोभिडपछि डिजिटल कारोबार सन्तोषजनक रहेको बताउनुभयो। साथै राष्ट्र बैङ्क मुलुकभर बैङ्किङ सेवा विस्तार गर्न लागिरहेको पनि उहाँले बताउनुभयो। सरकारी बैङ्क भएको हैसियतले नेपालको बैङ्किङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैङ्कको छुट्टै जिम्मेवारी, कर्तव्य तथा मार्गदर्शकीय भूमिका रहेको उहाँको भनाइ थियो।

बैङ्क सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरणसम्बन्धी नीतिको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैङ्किङ सेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैङ्कलाई आगामी दिनमा अगाडि बढाउने बताउनुभयो। बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कको वर्तमान स्थिति र समग्र योजनाका बारेमा जानकारी गराउँदै ग्राहक सेवामा पनि अझ सुधार ल्याउने र सरकारी स्वामित्वका संस्थाप्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैङ्कलाई हरेक पक्षबाट सुदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताउनुभयो।

उहाँले २०७९ पुस मसान्तसम्म बैङ्कले दुई खर्ब ८२ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरी दुई खर्ब ४१ अर्ब रुपियाँ कर्जा लगानी गरेको जानकारी दिनुभयो। कार्यक्रममा बैङ्कका उत्कृष्ट शाखा तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

२०२२ माघ १० गते मुलुकको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कसँग कारोबार गर्ने कुल ग्राहकको सङ्ख्या करिब ३८ लाख पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले सातै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २६५ शाखा कार्यालय सञ्चालनमा छन्। डिजिटल बैङ्किङ क्षेत्रमा समेत बैङ्कले उल्लेखनीय फड्को मारेको सो बैङ्कका हालसम्म करिब सात लाख एटीएम प्रयोगकर्ता, करिब १६ लाख मोबाइल बैङ्किङ प्रयोगकर्ता, २० हजार इन्टरनेट बैङ्किङ प्रयोगकर्ता तथा १० हजार ब्रान्चलेस बैङ्किङ प्रयोगकर्ता रहेको बैङ्कले जनाएको छ।  

https://gorkhapatraonline.com/news/52086