उनन्तीस मुलुकसँग नेपालको व्यापार नाफा
2023-01-26 16:09:03cri
Share with:

नेपालले वैदेशिक व्यापार गरिरहेका १४८ मुलुकमध्ये २९ सँग व्यापार नाफामा रहेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको छ महिनासम्म नाफामा रहेका २९ देशमा नेपालबाट १० अर्ब ११ करोड १७ लाख २४ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको गोरखापत्र अनलाइनले लेखेको छ। सो अवधिमा ती मुलुकबाट नौ अर्ब २८ करोड २५ लाख ७७ हजार रुपियाँको सामान आयात भएको छ। यी मुलुकमा नेपालबाट गलैँचा, पस्मिनाका सामान, तयारी पोसाक, चिया, कफी, नेपाली हाते कागज, जुट तथा जुटका सामान, जडीबुटी, ऊनी फेल्टका सामान, कुकुर तथा बिरालोको आहारालगायतका अन्य सामान निर्यात हुने गरेका छन्। 

यी मुलुकबाट हुने आयात न्यून परिमाण छ भने निर्यात बढेको छ। स्वदेशी उत्पादनको व्यापार धेरै भएका मुलुकमा अमेरिका, डेनमार्क, अफगानिस्तान, अल्जेरिया, कम्बोडिया, क्रोएसिया, माल्टा, मेक्सिको, मोरक्को, मोनाको, जिम्बाबेलगायत छन्। 

व्यापारविज्ञ रविशङ्कर सैँजू स्वदेशी वस्तुको निर्यात सबभन्दा धेरै अमेरिकामा हुने गरेको बताउनुभयो। अन्य देशमा आयात न्यून हुँदा निर्यातमा सामान्य बढेको देखिए पनि उत्साहपूर्वक निर्यात नबढेको बताउनुुभयो। स्वदेशी वस्तुको निर्यात बढाउन गुणस्तरीय र प्रतिस्पर्धी वस्तु उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ छ। विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा नेपालबाट सबभन्दा धेरै संयुक्त राज्य अमेरिकामा नौ अर्ब १२ करोड २२ लाख ९२ हजार रुपियाँको सामान निर्यात भएको छ। डेनमार्कमा ५३ करोड ४८ लाख १५ हजार रुपियाँ, नर्र्वेमा ११ करोड २५ लाख ७१ हजार रुपियाँको सामान निर्यात भएको तथ्याङ्क छ। यस्तै उरुग्वेमा चार करोड ११ लाख ९९ हजार रुपियाँको सामान निर्यात भएको छ।

विभागको तथ्याङ्कअनुसार अफगानिस्तानमा ३८ लाख ९९ हजार रुपियाँको निर्यात भएको छ। यस्तै अल्जेरियामा सात करोड ३० लाख ३४ हजार, सुडानमा छ लाख २० हजार रुपियाँ, अङ्गोलामा दुई लाख ३३ हजार रुपियाँको निर्यात भएको छ। 

सोही अवधिमा नेपालबाट अजरबैजानमा आठ लाख ९१ हजार, दी बहामासमा एक लाख ९८ हजार रुपियाँको सामान निर्यात भएको छ। कम्बोडियामा १० करोड ५७ लाख २७ हजार रुपियाँको सामान निर्यात भएको छ। कङ्गोमा ४९ लाख ७८ हजार, क्रोएसियामा ८४ लाख २३ लाख रुपियाँको सामान निर्यात भएको छ। इस्टोनियामा चार लाख ९० हजार, आइसल्यान्डमा १७ लाख एक हजार, लात्भियामा १८ करोड ६४ लाख चार हजार, मालीमा नौ लाख छ हजार, माल्टामा आठ लाख ९७ हजार, मौरिससमा ३२ लाख १९ हजार, मेक्सिकोमा २८ करोड ७९ लाख एक हजार रुपियाँको निर्यात भएको विभागको तथ्याङ्क छ।  

यस्तै मोनाकोमा २२ लाख १६ हजार, मोरक्कोमा २६ लाख ६२ हजार, न्यु क्यालेडोनियामा ६९ लाख ८३ हजार, जम्बियामा नौ लाख १६ हजार र जिम्बाब्वेमा चार लाख २२ हजार रुपियाँको सामान निर्यात भएको विभागको तथ्याङ्क छ। यी लगायतका अन्य देशमा निर्यात हुने गरेको छ। 

विभागका अनुसार छ महिनामा नेपालको कुल आयात २० दशमलव ६८ प्रतिशतले कमी आई सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपियाँ बराबरको सामान आयात भएको छ। गत वर्ष सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार रुपियाँको आयात भएको थियो।  

सोही अवधिमा स्वदेशी वस्तुको निर्यातमा ३२ प्रतिशतले कमी आई ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपियाँमा सीमित भएको विभागको तथ्याङ्क छ। गत वर्ष सो अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको थियो। 

आयातमा कमी आएसँगै व्यापार घाटा १९.१५ प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपियाँ पुगेको छ। अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रहेको थियो। 

चालू आर्थिक वर्षको पहिलो छ महिनामा कुल वैदेशिक व्यापार २१.८९ प्रतिशतले कमी भई आठ खर्ब ७३ खर्ब ४७ करोड ३७ लाख १० हजार रुपियाँको रहेको छ। गत वर्ष सो अवधिमा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रुपियाँको कुल वैदेशिक व्यापार भएको थियो।