नेपालमा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात
2023-01-27 15:32:31cri
Share with:

आँखामा मोतीबिन्दुको समस्या भएकाहरूका लागि ‘इन्ट्राअकुलर लेन्स’ वरदान साबित भएको छ। मोतिबिन्दूको शल्यक्रियापछि आँखाको नानीमा यो लेन्स प्रत्यारोपण गरिन्छ। जसबाट पुन: मानिसले संसारको उज्यालो देख्न सक्छन्। आँखाको उपचारमा प्रयोग हुने यो लेन्समा भने नेपाल आत्मनिर्भर रहेको रातोपाटी अनलाइनले लेखेको छ। 

मोतीबिन्दुको कारण दृष्टिमा समस्या भएकाहरूलाई राखिने यो लेन्स भने नेपालमै उत्पादन हुने गरेको छ। झण्डै २७ वर्ष अघिदेखि नेपालमा तिलगंगा आँखा प्रतिष्ठानले यो लेन्स उत्पादन गर्ने गरेको छ। यो लेन्स उत्पादनमा नेपाल आत्मनिर्भर मात्र छैन नेपालमा खपत हुनेभन्दा धेरै मात्रामा विदेशमा समेत निर्यात हुने गरेको छ। 

सन् १९९५ देखि नै आँखा प्रतिष्ठानले लेन्स उत्पादन ल्याब स्थापना गरेको थियो भने त्यसबेलादेखि नै लेन्स उत्पादन गरेर बिक्री गर्न थालेको लेन्स उत्पादन विभागका उत्पादन प्रमुख अभय श्रेष्ठले जानकारी दिनुभयो। यहाँ उत्पादन भएका लेन्सहरू सार्क राष्ट्रसहित विश्वका विभिन्न ३० देशमा निर्यात हुने गरेको छ। 

तिलगंगा आँखा प्रतिष्ठानले हाल ३ प्रकारका इन्ट्राअकुलर लेन्स उत्पादन गर्दै आएको छ। पहिलो पिएनएमए, दोस्रो हाइड्रोफेलिक र तेस्रो लेन्स हाइड्रोफोविक हो। यो लेन्स उत्पादन तथा बिक्री वितरण गर्नका लागि यसका लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड निर्धारित गरिएको हुन्छ। त्यही मापदण्डमा रहेर नेपाल आँखा प्रतिष्ठानले यो लेन्स उत्पादन गर्दै आएको छ। 

उत्पादन प्रमुख श्रेष्ठले भन्नुभयो– ‘यो लेन्स उत्पादन तथा बिक्री वितरण गर्नका लागि अन्तर्राष्ट्रिय किसिमको मापदण्ड हुने गर्छ। त्यो मापदण्ड हामीले परिपूर्ति गर्नुपर्ने हुन्छ। त्यसमा आईएसओ १३४८५ हुन्छ। साथै यो लेन्सलाई युरोपियन बजारमा बिक्री वितरण गर्नका लागि ‘सी’ मार्क पनि लिएको हुनुपर्छ। हामीसँग हालसम्म आइएसओ ९००१ आइएसओ १३४८५ र मार्क ‘सी’ हामीसँग छ।’

हाल दैनिक १२ सय लेन्स उत्पादन भइरहेको छ। दैनिक २ सिफ्टमा कर्मचारीले लेन्स उत्पादनको काम गर्र्दै आएका छन्। लेन्स उत्पादनका लागि दैनिक ६० जना हाराहारी कर्मचारी खटिने गरेका छन्। बिहान ६ बजेदेखि राती ९ बजेसम्म २ सिफ्टमा लेन्स उत्पादनको काम हुने गरेको छ। 

वार्षिक रूपमा ४ लाख हाराहारी सङ्ख्यामा यो लेन्स उत्पादन हुने गरेको छ। लेन्स कति उत्पादन गर्ने भन्ने कुरा मागमा भर पर्ने उहाँले बताउनुभयो। माग बढ्यो भने त्यही अनुसार उत्पादन गर्ने गरेको श्रेष्ठले जानकारी दिनुभयो। लेन्स उत्पादन हुने कच्चा पदार्थ युरोप तथा अमेरिकाको कम्पनीबाट ल्याउने गरिएको छ।

विदेशबाट आयत गरिएको कच्चा पदार्थलाई अत्याधुनिक मेसिनबाट लेन्सको आकारमा परिवर्तन गरिन्छ। सिएमसी मेसिनमा भएको प्रविधिबाट कच्चा पदार्थलाई इन्ट्रा अकुलर लेन्समा परिवर्तन गरिन्छ। मेसिनबाट लेन्स बनाइसकेपछि त्यसलाई सफाइ कक्षमा लगिन्छ। प्रत्येक लेन्सलाई प्रशोधित पानीमा सफा गरिन्छ। यसरी पानीले सफा गरेपछि लेन्समा कुनै खराबी छ कि, कतै कोतरिएको छ कि, कुनै खराबी छ कि भनेर माइक्रोस्कोपबाट जाँच गरिन्छ। कुनै खराबी नभएको उच्चगुणस्तरीय लेन्स मात्र छानिन्छ र त्यसलाई अगाडिको प्रक्रियामा लगिन्छ। 

लेन्सलाई गुणस्तरीय बनाउन ल्याबमा विभिन्न प्रक्रियाहरू पूरा गरिन्छ। लेन्सको पावरको अवस्था जाँच गरिन्छ। अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको लेन्सलाई अस्वीकार गरिन्छ भने उच्च गुणस्तरीय लेन्सलाई मात्र छनौट गरिन्छ। अन्तिममा फेरी लेन्सलाई सफा गर्ने काम हुन्छ। त्यसपछि ‘स्टेरिलाईजेशन’ प्रक्रिया पूरा गरिन्छ। त्यसपछि सो लेन्स आँखामा हाल्न ठीक छ कि छैन भनेर माइक्रोबायोलोजिक परीक्षण गरिन्छ। सो परीक्षणमा गुणस्तरीय ठहरिएका लेन्सलाई मात्र बिक्री वितरणका लागि प्याकिङ गर्ने प्रक्रिया अपनाइन्छ। 

उत्पादन प्रमुख श्रेष्ठले भन्नुभयो –‘आँखामा सधैँभरी राख्नुपर्ने लेन्स भएको हुनाले सङ्क्रमण नहोस् भनेर सचेतकताका साथ परीक्षण गरिन्छ। यो लेन्स कुनै पनि बिरामीको आँखामा गएपछि त्यसले सङ्क्रमण गर्नुहुँदैन। त्यसको लागि स्टेरलाइजेन प्रक्रिया पूरा गरिन्छ। त्यसपछि आँखामा हाल्न ठीक छ कि छैन भनेर माइक्रोबायोलोजिक टेस्ट गरिन्छ।’ 

पीएमएमए लेन्सको मूल्य सरदर ३ सयदेखि ४ सय रुपैयाँ पर्छ। हाइड्रोफिलिक लेन्सको सरदर मूल्य ११ सयदेखि १४ सय रुपैयाँ पर्ने हुन्छ। यस्तै हाइड्रोफोविक लेन्स सार्वजनिक गर्ने तयारी छ भने यसको मूल्य निर्धारण भइसकेको छैन। 

विदेशमा लेन्स बिक्री वितरणका लागि वितरकहरूको व्यवस्था गरिएको छ। उनीहरू मार्फत विदेशका अस्पतालहरूमा नेपाली लेन्स पुग्ने गरेको छ। नेपालमा उत्पादन हुने लेन्स धेरै मात्रा सार्क राष्ट्रमा बिक्री वितरण हुने गरेको छ भने चीन र युरोपियन देशहरूमा पनि बिक्री हुने गरेको छ।

श्रेष्ठले भन्नुभयो –‘अहिले हामीले उत्पादन गरेको धेरै जसो लेन्स पाकिस्तान र चीनमा निर्यात हुने गरेको छ। हाम्रो उत्पादित लेन्स ४० प्रतिशत नेपालमै खपत हुन्छ भने ६० प्रतिशत विदेशमा निर्यात गर्छौँ। देश तथा विदेशमा रहेका विभिन्न आँखा अस्पतालबाट लेन्सको अर्डर आउने गर्छ। अर्डर आएपछि बिक्री विभागले तुरुन्तै पुर्‍याईदिने व्यवस्था रहेको छ।’

नेपालमा यो लेन्स उत्पादन नहुने बेला भने विदेशबाट महँगोमा लेन्स खरिद गर्नुपर्ने अवस्था रहेको थियो। सन् १९९५ सालतिर मोतीबिन्दु भएका बिरामीको उपचारका लागि अमेरिकामा उत्पादन भएका लेन्सहरू ल्याउनुपर्थ्यो। त्यो बेला लेन्सको मूल्य १ सय डलरभन्दा माथि हुन्थ्यो। त्यतिबेला साधारण नेपालीहरूले खर्च धान्न नसक्ने अवस्था थियो। सन् १९९५ मा तिलगंगामा ल्याब स्थापना गरेपछि सर्वसाधारण नेपालीले सर्वसाधारणले सर्वशूलभ मूल्यमा पाउन थालेको श्रेष्ठ बताउनुहुन्छ।  

विदेशबाट आयात गर्ने लेन्स महँगो हुने गरेको छ भने त्यसको तुलनामा यहाँ उत्पादित लेन्स सस्तो पर्ने भएपनि गुणस्तरमा कुनै कमी नहुने उहाँको भनाइ छ।