सुनकोसीमा जलयात्रालाई चाहिन्न मौसम
2023-01-28 15:43:56cri
Share with:

जाडो मौसममा पनि सुनकोसी नदीमा जलयात्रा गरेर आनन्द लिनेको भीड बढेको छ । गर्मीयामका फागुन, चैत, वैशाख र जेठलाई जलयात्रा (र्‍याफ्टिङ) को मौसम मानिए पनि जाडो र वर्षायाममा समेत सुनकोसीमा आकर्षण बढेपछि व्यवसायी उत्साहित छन् । 

राजधानी काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालनमा आएसँगै सिन्धुलीको सुनकोसी गाउँपालिकाको मूलकोट जलयात्राका लागि ‘हब’ बन्दै गएको कान्तिपुर अनलाइनले लेखेको छ । यहाँमा होटलले जलयात्राको व्यवस्था गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेका छन् ।

जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटक तान्ने अभियानमा जुटेको व्यवसायी बताउँछन् । चार वर्षदेखि आफूले जलयात्रा व्यवसाय सुरु गरेको र सिजनमा भ्याइनभ्याई नै हुने गरेको मूलकोटको ताज रिसोर्टका प्रबन्धक मनोज श्रेष्ठ बताउनुहुन्छ।

‘सिजनमा भ्याइनभ्याई नै हुन्छ । गुड फ्राइडे मनाउन काठमाडौं र तराईबाट प्याकेजमा ग्राहक आउँछन्,’ उहाँले भन्नुभयो, ‘शुक्रबार र शनिबार दुई दिनमा एक हजारदेखि एक हजार पाँच सय जनासम्मले सुनकोसीमा जलयात्रा गर्दै आएका छन् ।’

फागुनदेखि असारसम्म जलयात्राको सिजन हो । तर यतिबेला अफ सिजनमा पनि व्यवसाय सन्तोषजनक रहेको श्रेष्ठको भनाइ छ । जलयात्रा गर्न प्याकेजमा प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ पर्ने उहाँ बताउनुहुन्छ । त्यसमा दुई छाक खाना, एक पटक ब्रेकफास्ट र बस्ने कोठाको थप सुविधा होटलले उपलब्ध गराउने व्यवसायीले जनाए ।

सुनकोसी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरदेखि मूलकोटसम्म सुनकोसीमा जलयात्राको नियमित रुट हो । यसका लागि १० वटा बोट (डुंगा) को व्यवस्था गरिएको छ । यसअघि यस क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षित जलयात्रा गर्नु भएको थियो।

सुनकोसी जलयात्राका लागि उपयुक्त देखिएको र गाउँपालिकाले पनि अनुमति दिएर सहयोग गरेको सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताउनुभयो । ‘र्‍याफ्टिङ भन्नेबित्तिकै विदेशीहरूले मात्र गर्ने भन्ने बुझाइ थियो । तर अहिले आन्तरिक पर्यटक उत्तिकै आकर्षित छन् ।’

पर्यटनका लागि वैकल्पिक आकर्षक गन्तव्यका रूपमा आफूहरूले सुनकोसीमा र्‍याफ्टिङलाई विस्तार गरिरहेको मूलकोटकै होटल व्यवसायी मीन श्रेष्ठको भनाइ छ ।

जलयात्राका लागि आउने पर्यटकको स्वागत सत्कार र आतिथ्यका लागि होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिने जस्ता काम जारी रहेको उहाँले बताउनुभयो । यसमा आवश्यक सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । जलयात्रामा आउनेहरूका लागि सुनकोसी गाउँपालिकाको मूलकोट, खाल्टे, रामटार, झागाझोली रातमाटा, बोहोरेटारमा सुविधासम्पन्न होटल तथा रिसोर्ट खुल्दै गएका छन् ।