चीनले नेपाललाई पर्यटकीय गन्तब्यको प्रमुख सूचीमा राख्ने
2023-01-30 15:41:41CRI
Share with:

चीनले नेपाललाई प्रमुख पर्यटकीय गन्तब्यको सूचीमा राख्न चाहेको जानकारी दिएको छ। उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गले कोभिड–१९ को महामारीअघि झैँ गरी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउन सकुन् भन्ने उद्देश्यले चीनले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा राख्न चाहेको बताउनुभएको हो। उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका लागि खुल्ला गरिएका गन्तब्य मुलुकको सूचीमा चीनले नेपाललाई समावेश नगरेको विषयमा जिज्ञासा राख्नुभएको थियो। जवाफमा राजदूत छनले भन्नुभयो, ‘चिनियाँ पर्यटकहरू, विशेष गरी उच्च वर्गका पर्यटकहरूका लागि नेपाल मनपर्ने गन्तव्य हो। हामी चाँडै धेरै चिनियाँ पर्यटकहरू नेपाल आउने अपेक्षा गरेका छौं। दुई सरकारबीच केही कागजी कार्यहरू गर्न आवश्यक छ ।’ 

फेब्रुअरी ६ तारिखका दिनदेखि लागू हुनेगरी चिनियाँहरूलाई भ्रमणका लागि खुल्ला गरिएका २० देशको गन्तब्य सूची चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले केही दिनअगाडि सार्वनजिक गरेको थियो। पछिल्लो समयमा नेपालको पर्यटन बजारमा चिनियाँ पर्यटकको झण्डै १५ प्रतिशत हिस्सा रहेको थियो। कोरोना महामारीअघि एक वर्षमा करिब १ लाख ७० हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए। चिनियाँ पर्यटकलाई नेपालले अन एराइभल भिसा, त्यो पनि निःशुल्क दिँदै आएको छ। साथै, चिनियाँ पर्यटकका लागि अनुकूल हुने गरी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत ठाउँमा होटेलहरू सञ्चालित छन्। 

नेपालसमाज अनलाइनका अनुसार कोभिडअघि नेपाल र चीनबीच हरेक दिन आधा दर्जन बढी उडान हुँदै आएको थियो । तर हाल हिमालय एअरलाइन्सले काठमाडौँबाट खुनमिङ्मा हप्तामा दुई र राजधानी बेजिङ्गमा एक उडान भर्दै आइरहेको छ ।  त्यसैगरी एअर चाइना र साउदर्न एअरले क्रमशः चीनको छन्तु र क्वाङ्चौ (ग्वानझाउ)मा साप्ताहिकरूपमा एक एक उडान गरिरहेका छन्। यसअघि यी गन्तब्यहरूबाट हरेक दिन दुई दुई उडान हुन्थ्यो।