‘सोचबाट उद्यमशीलता’को प्रमुख लक्ष्यसहित ‘आइडिया बैङ्क’ स्थापना गर्ने
2023-01-30 15:52:48CRI
Share with:

गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी चेम्बर अफ कमर्सको आठौँ कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशीलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिनुभयो । 

“गण्डकी प्रदेशभित्र स्थापना भएका उद्योग व्यवसायलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यावसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो । आइडिया बैङ्क स्थापना भएसँगै नयाँ उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पुँजी लिएर आएका उद्यमीलाई विशेष सहयोग पुग्छ,” उहाँले भन्नुभयो । 

देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सिर्जना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैङ्कले सहयोग गर्ने उहाँले बताउनुभयो । 

बैठकले गण्डकी प्रदेशमा फ्री हटलाइन नम्बर हेलो चेम्बर हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश भित्रिरहेका उद्योगी, व्यवसायीको हक, हित, समस्या पहिचान र निराकरण गर्नका लागि व्यावसायिक प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच पुलको काम गरी सरकारलाई व्यवसायीमैत्री नीति निर्माण गर्न, लगानीमैत्री वातावरण तयार गर्न नीतिगत सुझावका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो । 

यस्तै चेम्बर गण्डकीले एक पालिका एक उत्पादन र उत्पादित वस्तुको बजारीकरण गर्ने निर्णयसमेत गरेको छ । सीप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहने तथा कृषि पेसामा सीप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्र्किएका युवालाई कृषि तालिम दिएर कृषिमा आबद्धता गर्ने निर्णयसमेत गरेको गोरखापत्र अनलाइनले जनाएको छ।