नेपालमा शहीद दिवस मनाइँदै
2023-01-30 15:47:45CRI
Share with:

सहिद सप्ताहको अन्तिम दिन आज (सोमबार) काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट प्रभातफेरी निकालिएको थियो । उक्त प्रभातफेरीमा उच्च पदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता रहेको थियो ।

सभामा प्रधानमन्त्री प्रचण्डले सहिदको प्रेरणाबाट जीवित मानिसहरुलाई समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त भइरहेको बताउनुभयो। ‘‘सहिदहरुको बलिदानीबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सम्भव भएको हो । यसलाई संस्थागत विकसित र उत्तरदायी बनाउन तथा राष्ट्रको प्रतिष्ठा र नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्छ।,’’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

शान्त र समृद्ध मुलुक निर्माणको दायित्व सबैले लिएर सहिदको सपना पूरा गर्न लाग्नुपर्ने सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवम् महानगरका प्रमुख बालेन्द्र साहले बताउनुभयो । ‘‘स्वतन्त्र, स्वाधीन र सार्वभौम मुलुकमा सन्ततिले नागरिक अधिकार उपभोग, सहिदहरुको सपना थियो । त्यो सपना पूरा गर्न हामी सबैले आफ्ना–आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ । यसका लागि साझा संकल्पको खाँचो छ ।,’’ प्रमुख साहको भनाइ थियो । 

स्मृति सभामा सरकारका उच्च पदस्थ अधिकारीसहित महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यसहित सर्वसाधारण सहभागी हुनुहुन्थ्यो । माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आएको छ । विस २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । 

यस वर्ष माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा सहिदहरुको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । ४ सहिदका सालिकमध्ये २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक निर्माण गरिएको हो । यी सालिक महेश तुलाधरले निर्माण तयार पार्नुभएको हो । 

प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ साल माघ १० गतेदेखि १५ गतेबीच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । त्यो वर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर मारिएको थियो।