नेपालमा आन्तरिक हवाई यात्रु संख्यामा कीर्तिमान
2023-01-31 15:49:45CRI
Share with:

कोरोना भाइरसको महामारी कम भएसँगै आन्तरिक हवाई यात्रुको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार त्रिभुवन विमानस्थलबाट मात्र एक वर्षको अवधिमा ४४ लाख ६६ हजार १५२ जना यात्रुले उडान सेवा लिएका छन् । सन् २०२१ मा ३५ लाख ७६ हजार ८८३ जना यात्रुले यस विमानस्थलबाट सेवा लिएका थिए । त्रिभुवन विमानस्थल आन्तरिक उडानको सबैभन्दा धेरै उडान तथा अवतरण हुने विमानस्थल हो ।

 

काठमाडौंबाहिर पोखरा, भैरहवा, विराटनगर र नेपालगञ्ज बढी व्यस्त विमानस्थल हुन्। कोरोना महामारीका बेला सुरक्षित यात्राका रुपमा जहाज चढ्ने यात्रु बढ्न थालेका थिए। त्यसबेला हवाइ इन्धनको मूल्यमा आएको गिरावटले टिकटको मूल्य घटेको थियो। यसै मौकामा वायुसेवा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गरेका थिए । यसको प्रभाव हवाइ भाडा बढ्दा पनि देखिएको हो ।

 

वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीका अनुसार कोरोना महामारी लगत्तै २४/२५ घण्टाको दुरीमा यात्रा गर्नुपर्ने यात्रुले हवाइजहाज रोजेको पाइएको थियो । साथै लामो लकडाउनपछि यात्रा प्रतिबन्ध खुलेका कारण पनि यस वर्ष यात्रुको संख्या वृद्धि भएको हो । पछिल्लो समय नेपालमा वायुसेवा कम्पनीले जहाज संख्या बढाएका छन् । टिकटको मूल्य पनि प्रतिस्पर्धी नै रहेका कारण पनि यात्रु आकर्षित भएको हो। यस वर्ष दुई/तीन वर्षदेखि दशैंमा घर जान नपाएका यात्रुले समेत जहाज रोज्दा यात्रु बढेको अनुमान छ।

 

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार देशभर सडक निर्माण/विस्तारको प्रभाव पनि हवाई यात्रुमा देखिएको हो । यस वर्ष दुई वटा निर्वाचनले समेत हवाई यात्रु वृद्धिमा भूमिका खेलेको अनलाइनखबरमा लेखिएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार यस वर्ष २२ लाख ५५ हजार ५३८ यात्रु त्रिभुवन विमानस्थल हुँदै अन्य आन्तरिक विमानस्थलमा उडेका छन्। २२ लाख १० हजार ६१४ जना यात्रु देशभरका अन्य आन्तरिक विमानस्थलबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा मात्र १ लाख ८ हजार २०२ पटक जहाज ओहोरदोहोर भएको छ । जसमा ५४ हजार १०७ वटा जहाज प्रस्थान गरेका थिए भने ५४ हजार ९५ पटक जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।

 

यसैबीच तथ्यांक अनुसार त्रिभुवन विमानस्थलले मात्र एक वर्षको अवधिमा कुल ७९ लाख ५४ हजार ४८० जना यात्रु व्यवस्थापन गरेको छ । यो आन्तरिक र बाह्य तर्फ सेवा लिएका यात्रुको संख्या हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो ।

 

तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । यस विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार ३२८ जना अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको हो ।

 

विमानस्थलमा एक वर्षको अवधिमा २४ हजार ३१२ वटा उडान–अवतरण भएका छन् । जसमा १२ हजार १५८ पटक जहाजहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । १२ हजार १५४ पटक जहाजहरु यहाँबाट उडेका छन् ।

विमानस्थल भन्सार बिन्दु समेत हो । एक वर्षमा त्रिभुवन विमानस्थलबाट वायुयानहरुले २ करोड ६६ लाख ७६ हजार ७८० किलो कार्गो ओसारेका छन् । जसमध्ये १ करोड ३२ लाख ४ हजार ७७० किलो सामान नेपाल भित्रिएको छ । १ करोड ३४ लाख ७२ हजार १० किलो सामान बाहिरिएको प्राधिकरणले जनाएको छ ।

 

सन् २०२१ को तुलनामा उडान संख्या, यात्रु संख्या उल्लेख्य बढेको छ भने कार्गो यस वर्ष घटेको छ । यसो हुनुमा अघिल्लो वर्ष कोरोना नाका कारण सीमा नाका बन्द हुनु र कार्गो उडानमा हवाईमार्गको प्रयोग हुनु मूख्य कारण थियो । सन् २०२१ मा अन्तर्राष्ट्रियतर्फ त्रिभुवन विमानस्थलमा ५ हजार ८८२ पटक जहाजको आगमन भएको थियो । ५ हजार ८७८ पटक जहाजको प्रस्थान भएको थियो ।

 

यसरी एक वर्षमा ११ हजार ७६० उडान/अवतरण भएका थिए । सो वर्ष यस विमानस्थलबाट २ करोड ९५ लाख १४ हजार १२० किलो कार्गो ओसार–पसार भएको थियो । यस वर्ष १ करोड ५७ लाख २३ हजार १९५ किलो सामान भित्रिएको थियो । १ करोड ३७ लाख ९० हजार ९२५ किलो सामान जहाजबाट बाहिरिएको थियो ।