नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने मुद्राकोषको पूर्वानुमान
2023-02-01 15:57:42CRI
Share with:

चालू आर्थिक वर्ष नेपालमा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । बहुराष्ट्रिय निकाय आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । यसअघि विश्व बैंकले नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको थियो।

यस वर्ष भारतमा ६.१ प्रतिशत, भुटानमा ४.३ प्रतिशत, बंगलादेशमा ६ प्रतिशत, पाकिस्तानमा ३.५ प्रतिशत र श्रीलंकामा माइनस ३ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान आईएमएफले गरेको छ। माल्दिभ्सले ६.१ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने अनुमान छ । 

कोषका अनुसार सन् २०२३ मा ग्लोबल ग्रोथ २.९ प्रतिशत रहने अनुमान छ । यसअघि विश्व बैंकले १.७ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४ प्रतिशत थियो । 

सन् २०२३ मा विश्वको ठूला अर्थतन्त्र भएका मुलुकहरु बढी मन्दीमा जानेछन् । जसले समग्र विश्व अर्थतन्त्र मन्दीमा आउने देखिएको छ। अमेरिकाको वृद्धिदर यस वर्ष १.४ प्रतिशत छ। युरोपको औसत ०.७ प्रतिशतमात्र रहने छ। मध्यपूर्वी एसियाको अर्थतन्त्र ३.२ प्रतिशतले बढ्दा एसियाका विकासशील मुलुकहरूको अर्थतन्त्र ५.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल, भारतसहितका मुलुक यसै समूहमा छन्। ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरुको वृद्धिदर १.८ प्रतिशत र अफ्रिकाको ३.८ प्रतिशतमात्र रहने आईएमएफको प्रक्षेपण छ । विश्व अर्थतन्त्रको वृद्धि सन् २००० देखि सन् २०१९ को बीचमा ३.८ प्रतिशतको औसतमा थियो । यस वर्ष सो औसतभन्दा पनि तल ओर्लिने अनुमान आईएमएफले गरेको हो । कोभिड–१९ महामारीबाट उठ्दै गरेको विश्व अर्थतन्त्रलाई रुस–युक्रेनले नराम्रो धक्का दिएको छ । यसको असर वर्षभर नै भोग्नुपर्ने देखिएको आईएमएफले जनाएको छ। यस वर्ष मुद्रास्फीति औसत ६.६ प्रतिशत रहने कारोबारले लेखेको छ।