‘गोरु पर्व’ लाई उत्कृष्ट वृत्तचित्र अवार्ड
2023-02-01 16:19:18CRI
Share with:

नेपालको मौलिक संस्कृतिलाई समेटिएको वृत्तचित्र ‘गोरु पर्व’ ले उत्कृष्ट वृत्तचित्र अवार्ड जितेको छ । पुरु लम्सालले निर्देशन गरेको वृत्तचित्रले बंगलादेशको बोगुरामा आयोजित ‘तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उक्त अवार्ड पाउन सफल भएको हो ।

लम्सालका अनुसार जनवरी २६ देखि २८ सम्म आयोजना भएको महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रान्स, इजिप्ट, ट्युनिसिया लगायतका विभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको थियो ।

नुवाकोटको तारुकामा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा आयोजना हुने गोरु जुधाउने परम्परामाथि निर्मित वृत्तचित्र सिने मेकर्स नेपालको प्रस्तुतिमा केपी पाठक र नीराजन सिग्देलले निर्माण गर्नुभएको हो । रमेशकुमार धमला र ज्योति सिंहले खिचेको वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेको कान्तिपुर अनलाइनमा खबर छ। 

वृत्तचित्रमा सुशीलसिंह ठकुरीको पार्श्वगायन, राजेन्द्र बजगाईंको पार्श्वसंगीत रहेको छ । निर्देशक लम्सालले वृत्तचित्रले नेपालको मौलिक संस्कृतिमा आधारित ‘गोरु पर्व’ बारे अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारसमेत गरेको जनाउनुभयो । ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै हामीले गरेका हौं,’ उहाँले भन्नुभयो, ‘हाम्रा हरेक पर्व र संस्कृतिहरूको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सकिन्छ भन्ने देखिएको छ ।’