जस्तापाता निर्यात वृद्धि
2023-02-01 16:14:18CRI
Share with:

अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित जस्तापाताको माग बढ्दै गएको पाइएको छ । कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर नेपालमा उत्पादित जस्तापाता छिमेकी मुलुक भारत, श्रीलङ्का, रोमनियाँलगायतका देशमा निर्यात हुन थालेको व्यवसायीले बताएका छन्। 

जगदम्बा स्टिल्स कम्पनीका बिक्री प्रबन्धक रामबहादुर बम्जनले जगदम्बा स्टिल्सको सुपरसाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको बताउनुभयो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब १२ करोड रुपियाँ बराबरको आठ हजार टन जस्तापाता निर्यात गरिएको जानकारी उहाँले दिनुभयो । 

“गत वर्ष परीक्षणका रूपमा एक सय टन निर्यात भएकामा चालू आवको छ महिनामै  आठ हजार टन जस्तापाता निर्यात गर्न सफल भयौँ,” उहाँले भन्नुभयो । 

पाकिस्थानसँगै युरोपियन मुुलकका कम्बोडिया, भियतनाममा जस्तापाता पठाउने गरी थप तयारी भएको उहाँको भनाइ छ । सबैभन्दा धेरै जस्तापाता भारत निर्यात हुनेगर्छ। 

कम्पनीले जगदम्बा स्टिल्स जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एल्मुनियम–जिङ्क कलर कोटेड र प्लेन सिट तथा कोइल्स्) जस्तापाता निर्यात भएको जनाएको छ ।

उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित रहेको कम्पनीले जनाएको छ । कच्चा पदार्थ आयात गरी हुलास स्टिल, आरती स्टिलले पनि  तीन महिनाअघिदेखि निर्यात सुरु गरेका छन् । जस्तापाताको आन्तरिक बजारमा समेत ठूलो खपत हुनेगर्छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको ६ महिनामा  ६३ अर्ब ६६ करोड ६३ लाख ५८ रुपियाँ बराबरको आइरन स्टिलको कच्चा पदार्थ आयात भएको छ। गोरखापत्र।