नेपालमा जनचेतनामूलक ‘आयोडिन महिना’सुरु
2023-02-02 16:06:20CRI
Share with:

‘थोरै खाऊँ, सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाऊँ, स्वस्थ बनौँ’भन्ने नाराका साथ बुधबारदेखि आयोडिन महिना सुरु भएको छ। नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइने प्रचलनअनुसार नेपालभर बुधबारदेखि आयोडिन महिनाका कार्यक्रम सुरु गरिएको हो।

आयोडिन महिनाको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको ‘अहिलेको नुन बजारको अवस्था र आयोडिनयुक्त नुनको उपयोग’विषयक छलफलमा सोबारे जानकारी दिइयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, साल्ट ट्रेडिङ कर्पोरेसन, उपभोक्ता अधिकारकर्मीले देशव्यापी रूपमा आयोडिन नुनको प्रयोग र यसको महत्वबारे सचेतनाका कार्यक्रम सार्वजनिक गरेका छन्।

नेपालमा नुनको मापदण्ड र गुणस्तर मापन गर्ने निकाय खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशीले ‘वैद्य’ले नेपालमा हाल बिक्री वितरण हुँदै आएको नुनमा प्रयोग भएको आयोडिनको मात्रा आवश्यकताभन्दा बढी नभएको बताउनुभयो। विभागले नुनमा आयोडिनको मात्रा ठीक भए वा नभएको विषयमा विभिन्न ठाउँबाट नुनको नमुना लिएर परीक्षण गर्दा अहिलेसम्म त्यस्तो पुष्टि नभएको उहाँले जानकारी गराउनुभयो।

नेपालीले शरीरलाई आवश्यकताभन्दा दोब्बर नुनको उपभोग गर्ने गरेको तथ्य बाहिर ल्याइएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम नुन आवश्यकता पर्ने भनेकामा नेपालीले भने औसतमा ९.५ ग्राम उपभोग गर्ने गरेको पाइएको छ। नुनको बढी प्रयोग गर्नेबित्तिकै आयोडिनको मात्रा पनि बढ्ने र सोडियम क्लोराइडको मात्रा पनि बढी हुने भएकाले यसले स्वास्थ्यमा अर्को असर गर्ने हुँदा आयोडिन नुनको दिनहुँ तर थोरै प्रयोग गर्नुपर्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का अनुसन्धानकर्ताले नेपालका सात प्रदेशका ६६ जिल्लाका १५ देखि ६९ उमेर समूहका चार हजार ३६१ जनामा गरेको अध्ययनमा नुनको बढी प्रयोग भएको पाइयो।