विश्व सिमसार दिवस:सिमसार क्षेत्र जोगाउन चुनौती
2023-02-02 15:53:50CRI
Share with:

आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन। पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिंदै गएका छन्। सिमसार क्षेत्रमा असंख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुंगी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेका उहाँ बताउनुहुन्छ। प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताउनुभयो। 

प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्क रूपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउनुहुन्छ।‘जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्त्वपूर्ण छ। यसको संरक्षणमा जोड दिनुपर्छ।’ उहाँले भन्नुभयो, ‘सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक छ।’ 

त्यसैगरी विद्यार्थी रितु जोशीले सिमसार क्षेत्रमा सयौं जलीय र स्थलिय बोट बिरुवा र जनावर प्रजातिलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताउनुभयो। ‘सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।’रासस