चिनियाँ नयाँ वर्ष सकिएपछि खुलेको रसुवागढी नाकाबाट नेपालतर्फ सामान आउन सुरु
2023-02-03 15:26:48CRI
Share with:

चिनियाँ नयाँ वर्ष सकिएपछि बुधबारदेखि खुला गरिएको रसुवागढी नाकाबाट सामान आयात हुन  थालेको छ। ल्होसार पर्व अर्थात् चिनियाँ वर्षका कारण माघ ६ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात तथा निर्यात रोकिएको थियो। बुधबार बिहान ७ वटा र साँझ ७ वटा गरी १४ वटा चिनियाँ कन्टेनर सामान आयात गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो।

ल्होसार पर्व अर्थात् चिनियाँ नयाँ वर्षका कारण १२ दिनदेखि आयात रोकिएको थियो। शुक्रबार बिहान तयारी कपडा, रबर, प्लाष्टिकका जुत्ता चप्पल विद्युतीय जिप, जलविद्युत् आयोजनाका सामग्री लगायत वस्तु नाकाबाट आयात गरिएको हो। अहिले नाकाबाट दैनिक रुपमा १४ कन्टेनर मात्र सामान आयात भइरहेको छ । यस्तै नेपाली सामान पनि चीनतर्फ निर्यात हुन थालेको एक महिना पूरा भइसकेको छ । तीन वर्षपछि गत पुस १२ गतेदेखि मात्रै चीनतर्फ सामान निर्यात हुन थालेको थियो।

निर्यात खुलेपछि अहिलेसम्म नेपालबाट ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भइसकेको बताइएको छ । रसुवागढी नाकाबाट अहिलेसम्म करिब ७ करोड मूल्य बराबरको ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भएको रसुवा भन्सारले बताएको छ। नाकाबाट सामान आयात-निर्यात गरिए पनि मानिसको आवतजावत भने अझै खुलेको छैन। कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात-निर्यात प्रभावित भएको तीन वर्ष पूरा भइसकेको छ।

२०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । पछिल्लो समय आयात-निर्यात खुलाइए पनि कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको अवस्थामा अझै नपुगेको बताइएको छ। सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात-निर्यात बन्द भएको थियो भने पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात-निर्यात थप प्रभावित भएको हो। साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो। कान्तिपुर अनलाइनका अनुसार आयात पनि कोरोना, पहिरो र हिमपात लगायत कारण नियमित हुने गरेको छैन।