मलेसिया–नेपाल उच्चस्तरीय श्रम बैठक सुरू
2023-02-03 15:49:09CRI
Share with:

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक सुरू भएको छ। नेपालीको प्रमुख श्रम गन्तव्यबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा कामदारको हित र सुरक्षामा केन्द्रित द्विपक्षीय छलफल हुनेछ । बैठकमा नेपालको तर्फबाट निमित्त श्रमसचिव डण्डुराज घिमिरे, सहसचिव रामचन्द्र ढकाल, वैदेशिक रोजगार विभागका प्रमुख उमाकान्त आचार्य लगायतको टोली छ । मलेसियाको तर्फबाट नेपालका लागि मलेसियाली राजदूत मोहमद फाजिल अबु हसन र मानव संशाधन मन्त्रालयका प्रतिनिधिहरु रहेका छन्। यो बैठकपछि गृहमन्त्री इजमाइलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कूटनीतिक भेट गर्ने छ । 

मलेसियाका गृहमन्त्री इजमाइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउनुभएको कान्तिपुर अनलाइनले जनाएको छ। शुक्रबारको बैठकले मलेसियाले छुट्याएको कोटामा नेपाली कामदार प्राथमिकता निर्धारण हुनेछ । मलेसियाले संवेदनशील क्षेत्रमा कामदार अभाव भएपछि तुरुन्तै पाँच लाख कामदार लैजाने नीति लिएको छ । यो नीति लिएलगत्तै मलेसियाको उच्च तहको नेतृत्व नेपालसँग संवाद गर्न काठमाडौं आइपुगेको हो ।

मलेसियाले संवेदनशील क्षेत्रमा रहेका औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै स्रोत देशबाट तुरुन्तै कामदार ल्याउने तयारी गरेको हो । त्यसमध्ये सेवा क्षेत्रअन्तर्गत पर्ने घरेलु कामदार र नेपाली सुरक्षा गार्डबारे मलेसियाको मुख्य चासो छ । नेपाल आउनुअघि मलेसियाका मानव संसाधनमन्त्री र गृहमन्त्रीलाई भेटेका मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले यो भ्रमणलाई रणनीतिक महत्त्वका हिसाबले बुझ्नुपर्ने बताउनुभयो। ‘यो सामान्य कूटनीतिक भेट मात्रै होइन, विशेष रणनीतिक भ्रमण हो । मलेसियाले यस्तो भ्रमण १५ वटा स्रोत देशसँग गर्दै छ,’ उहाँले भन्नुभयो। मलेसियाका स्रोत देशबीच सबैभन्दा बढी प्रतिस्पर्धा नेपाल र बंगलादेशबीच छ ।