पर्यटन प्रवर्द्धन गर्न ठोस कार्यक्रम ल्याउने तयारी
2023-02-04 15:53:47CRI
Share with:

पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ठोस कार्यक्रम ल्याउने तयारी गरिएको छ। कोभिड १९, माघ १ गते पोखरामा भएको विमान दुर्घटनाले गर्दा खस्केको पर्यटन क्षेत्रलाई माथि उकास्न पोखराका पर्यटन व्यवसायीले अब ठोस कार्यक्रम ल्याउने तयारी गरेका हुन्। 

विमान दुर्घटनाको विषयले गर्दा आफुहरु निकै दुःखी भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो। हवाई दुर्घटनाको विषयले गर्दा पोखरामा सकरात्मक सन्देश प्रवाह गर्न सबै क्षेत्र लाग्नु पर्ने बताउँदै उहाँले त्यसको लागि व्यवसायीहरु तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो “हवाई रुट र सडक मार्गको सुरक्षाको ग्यारेन्टी हुनुपर्‍यो, पोखरा र पोखरा क्षेत्रमा आउने पाहुनालाई स्वागत सत्कार गर्न हामी तयारी अस्बस्थामा रहेका छौं, हामी छिट्टै पुनः उत्थान गर्न चहान्छौं।” 

विज्ञ टोलीसहित सरोकारवालासँगको छलफलबाट पोखराको पर्यटन प्रवद्र्धन हुने गरी ठोस कार्यक्रम ल्याउने योजनामा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो। स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार र नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा पोखराको पर्यटन प्रवद्र्धन गर्न आवश्यक भएको उहाँले बताउनुभयो।  पोखरामा हाल आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। 

पोखरामा विमान दुर्घटना पश्चात हाल हवाई उडान समेत प्रभावित भएको छ । पोखरा काठमाडौं करिब २२ वटा उडान हुने भएपनि हाल घटेर १५ वटा मात्र उडान हुन थालेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो। अफ् सिजनसमेत भएको र विमान दुर्घटनाको विषयले गर्दा पनि हवाई उडान गर्ने यात्रुको संख्या घटेको एयरलायन्स कम्पनीहरुले बताएका कारोबार अनलाइनले खबर लेखेको छ। 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले यति बेला व्यवसायी पीडादायी अवस्थामा रहेको बताउनुभयो। 

७ प्रतिशतमा लिएका ऋणको व्याज एकाएक दोब्बर १४ प्रतिशत पुर्‍याउँदा व्यवसायीहरु मर्कामा परेको गुनासो गर्दै उहाँले राज्यले सहि नीति नियम र नियमन गर्न नसक्दा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताउनुभयो। नेपाल सरकार र राष्ट्र बैंकबीच सहकार्य नहुँदा पनि चर्को व्याजको मारमा परेको अध्यक्ष प्रजापतीले बताउनुभयो। 

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुगजालीले पोखराको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रको सहकार्यमा कुनै कार्यक्रम गर्न चाहेको बताउनुभयो। प्रदेशको आर्थिक विकासको मुल आधार नै पर्यटन भएकाले पर्यटन क्षेत्रमा समस्या हुँदा समग्र प्रदेशको अर्थतन्त्रमा असर पर्ने भएकाले पर्यटन प्रवद्र्धन गर्न आवश्यक भएको उहाँको भनाइ छ ।