लुम्बिनीको व्यापक प्रचारप्रसार गर्नुपर्ने अर्थमन्त्रीको ठहर प्रदेशको, लुम्बिनी प्रदेरशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत
2023-02-04 15:52:25CRI
Share with:

लुम्बिनी प्रदेशको कुल जनसंख्या ५१ लाख २४ हजार २ सय २५ छ । यो नेपालको कुल जनसंख्याको १७.५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस प्रदेशको हिस्सा १४.१ प्रतिशत छ । गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ । 

लुम्बिनीमा बैंक तथा वित्तीय संस्थाको संख्या २ हजार १ सय ८६ छ । यो नेपालभरको बैंक तथा वित्तीय संस्थाको १९.२६ प्रतिशत हो । यस प्रदेशमा बैंकका प्रतिशाखाले २ हजार ३ सय ४४ जनालाई वित्तीय सेवा दिइरहेका छन् । 

नेपालको कृषि उत्पादन र उत्पादनमूलक उद्योगका हिसाबले पनि यो प्रदेश पाँचौं स्थानमा छ । वन क्षेत्रका हिसाबले पनि पाँचौं नै छ । नेपालको कुल वन क्षेत्रको १४.७४ प्रतिशत हिस्सा यसले ओगटेको छ । 

प्रतिव्यक्ति आयका हिसाबले लुम्बिनी चौथो स्थानमा छ । गत आर्थिक वर्षमा यस प्रदेशका नागरिकको प्रतिव्यक्ति आय ११०३ अमेरिकी डलर छ । प्रदेशमा कुल ५६२२ विद्यालय छन् । यो नेपालको कुल विद्यालय संख्याको १६.३५ प्रतिशत हो ।

प्रादेशिक रूपमा तुलना गर्दा ऊर्जा उत्पादनका हिसाबले यस प्रदेशको हिस्सा ३१ मेगावाट छ । यस प्रदेशका ९४.९१ प्रतिशत नागरिकमा ऊर्जा पहुँच पुगेको छ । लुम्बिनीमा ६५६ उद्योग दर्ता भएका छन् । तिनमा १ खर्ब ७१ अर्ब रुपैयाँ लगानी भएको छ । उद्योग संख्या र लगानीका हिसाबले यस प्रदेशको हिस्सा क्रमशः ७.५७ र ६.८१ प्रतिशत छ ।

यस प्रदेशमा ५ हजार ४७५ किमि सडक निर्माण भएको छ । यो नेपालभरको कुल सडक सञ्जालको १४.१४ प्रतिशत हो । यस क्षेत्रमा ३ लाख ६ हजार डिम्याट खाता खुलेका छन् । यो नेपालमा खुलेको कुल डिम्याट खाताको करिब ११.१४ प्रतिशत हो । 

लुम्बिनीका ४ लाख ४७ हजार २ सय ६४ जनशक्ति रोजगारीका लागि निजी प्रतिष्ठानमा आबद्ध छन् । यहाँ ७७ वटा मात्र विदेशी लगानीका उद्योग दर्ता भएका छन् । यो नेपालभर रहेका कुल विदेशी लगानीका उद्योगका हिसाबले १.४३ प्रतिशत मात्र हो । 

गत असारसम्म लुम्बिनीमा ११ लाख ६४ हजार ९ सय ३३ वटा सवारीसाधन दर्ता भएका छन् । यो नेपालभर दर्ता भएका कुल सवारीसाधनको २२.७ प्रतिशत मात्र हो । आर्थिक वर्ष ०७८/७९ मा यस प्रदेशबाट १ लाख १३ हजार ५ सय ६२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।निर्यातका हिसाबले भने यस प्रदेशमा प्रशस्त सम्भावना छ । यहाँबाट रोजिन र रोजिन एसिड, पोलिस्टर यार्न, कफी, अदुवालगायत वस्तु निर्यातको सम्भावना छ। 

यसैबीच उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनीको महत्त्व र अपार सम्भावना रहँदा रहँदै पनि राष्ट्रले विविध कारणले त्यसको उपयोग गर्न नसकेको उहाँको भनाइ थियो। कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित लुम्बिनीको सामर्थ्य विषयक कार्यक्रममा मुख्य वक्ताको रुपमा पौडेलले भन्नुभयो, ‘लुम्बिनी असीमित सम्भावनाको क्षेत्र हो। आज हामीले जति देखेका छौं र देख्न सक्छौं यसको उपदेयता त्यो भन्दा व्यापाक छ। उहाँले थप्नुभयो, ‘लुम्बिनीको सम्भावना प्राप्तिमा राज्यले कुनै पनि कसुर बाँकी राख्नु हुँदैन।’ 

लुम्बिनीको विकाससँगै व्यापक रुपमा प्रचारप्रसार गरेर विश्वभर फैलाउनु पर्ने उहाँको भनाइ थियो । लुम्बिनीको व्यापक प्रचारप्रसार गरेर विश्वभरमै महत्त्वपूर्ण र लोकप्रिय पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो। मुलुकको समग्र विकासमा पनि लुम्बिनीले महत्त्वपूर्ण योगदान दिन सक्ने पौडेलको भनाइ थियो।