पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तोकियो भन्सार विन्दु
2023-02-04 15:57:17CRI
Share with:

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा भन्सार विन्दु तोकिएको छ । अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्र तोकेको हो । 

राजपत्रमा प्रकाशित सूचना अनुसार पोखरा महानगरपालिका वडा नं १४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ओगटेको सबै क्षेत्र र चार किल्ला भित्रको क्षेत्रलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार क्षेत्र घोषणा गरिएको अनलाइनखबरले जनाएको छ। 

सूचना अनुसार पूर्वमा विजयपुर खोला र सो खोलामा अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासँग जोडिएको क्षेत्रले भन्सार सीमाना छुट्याएको छ । पश्चिममा काजीपोखरी खहरे खोला र सो पारीको फलेपाटन भन्ने स्थानले सीमाना छुट्याएको छ । 

उत्तरमा पृथ्वी राजमार्ग तथा हलेवी मार्गसँग जोडिएको भूभाग भित्रको क्षेत्रलाई छुट्याइएको छ । दक्षिणमा भेडी फार्म, राधाकृष्ण मन्दिर हुँदै रामेश्वरी माविसँग जोडिएको क्षेत्रले सीमाना तोक्ने सूचनामा उल्लेख छ । 

पोखरा विमानस्थल १ जनवरीबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । तर, अझै अन्तर्राष्ट्रिय उडान भने सुरु भइसकेको छैन।