"अमेरिकाले दोस्रो विश्वयुद्धको समयमा बाँकी रहेका र विस्फोट नभएका बमलाई जतिसक्दो चाँडो हटाउनुपर्छ।" सोलोमन टापुको राजधानी होनियाराको सडकमा स्थानीय नाट्टी साराले बेलायती अखबार द गार्डियनलाई दिएको अन्तर्वार्तामा यस्तो बताइन्।
३० वर्षसम्म बन्द रहेको सोलोमनको लागि अमेरिकी राजदूतावास पुनः खोलिएको केही दिनपछि मात्रै उक्त रिपोर्ट आएको हो। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रशान्त क्षेत्रमा थप कूटनीतिज्ञ पठाएर अमेरिकी कार्यक्रम र स्रोतलाई स्थानीय आवश्यकतासँग जोड्ने जनाएको छ। यदि अमेरिका, यो मौकामा प्रशान्त महासागरीय टापु देशहरूलाई इमानदारीपूर्वक मद्दत गरेर टापु देशहरूको विकासलाई बढाउने संयुक्त अन्तर्राष्ट्रिय शक्ति बन्यो भने, यो निस्सन्देह राम्रो कुरा हुनेछ। यद्यपि, धेरै पश्चिमी मिडियाले यसलाई यसरी हेर्दैनन्। यो नै वासिङटनको "चीनलाई सन्तुलनमा राख्न" र "एशिया-प्रशान्त क्षेत्रमा आफ्नो बन्दोबस्तलाई गतिशील पार्न" को लागि नवीनतम उपाय हो भन्ने विश्वास गरिएको छ।
विगत ३० वर्षमा सोलोमन टापुमा अमेरिकाको "आउजाउ" सधैं रणनीतिक चिन्ता र भूराजनीतिक खेलहरूमा डुबेको छ। अमेरिकाले वास्तवमै टापु देशहरूको विकासमा साँच्चिकै चासो राखेको छ? के उनीहरूलाई समान साझेदारको रूपमा व्यवहार गर्छ र? भन्ने शंका गर्ने अधिकार स्थानीयहरूसँग छ।
सन् २०२२ को जूनमा सोलोमन टापुका पत्रकार डोरोथी वीहानले न्युयोर्क टाइम्समा लेख प्रकाशित गर्दै भनिन्, "मैले मेरो देशका सबै टापुहरूको भ्रमण गरेको छु र अमेरिकाले छोडेको कुनै सम्पदा देखेको छैन। तर चिनियाँ कम्पनीहरूले हाम्रा मुख्य अस्पतालको स्तरोन्नति गरेको साथै एक रङ्गशालाको निर्माण पनि गरिरहेका छन्। उनले यस्तो प्रश्न गरिन, 'सोलोमनले चीनसँग सहकार्य गरेको आरोप लगाउने अमेरिकासँग के अधिकार छ? युनिभर्सिटी अफ उटाहकी सहायक प्राध्यापक एन्जेला रोबिन भन्छिन्, "दशकौं बितिसकेको छ र अहिले अमेरिकालाई चीनको बारेमा चिन्ता लागेकोले प्रशान्त टापुका देशहरूको बारेमा चासो राख्न थालेको रहेछ, यसबाट वास्तवमा इमानदार नभएको महसुस हुन्छ।"
इमानदारी नै देशहरूबीचको सहयोगको आधार हो। प्रशान्त महासागरीय टापुका देशहरूका लागि विकास प्राथमिकता हो र यसका लागि अवसरवाद चाहिँदैन, वास्तविक विदेशी सहयोगको खाँचो छ। तिनीहरूमा ठूला मुलुकको खेलको प्यादा र सिकार बन्ने मनसाय छँदै छैन। ३० वर्षसम्म बन्द रहेका आफ्ना दूतावास पुनः खोलेपछि अमेरिकाले प्रशान्त टापु देशहरूप्रति सम्मान र समानताको पुनः स्थापना गर्ने आशा गरिएको छ। उदाहरणका लागि, नाट्टी साराको मागको जवाफ दिँदै दोस्रो विश्वयुद्धमा सोलोमन टापुमा बाँकी रहेका बमहरूलाई हटाउने काम सुरु गर्नु।