नेपाली परराष्ट्रमन्त्री श्रीलंका भ्रमणमा, भैरहवा–कोलम्बो सिधा उडान गर्न आग्रह
2023-02-05 15:47:57CRI
Share with:

मित्रराष्ट्र श्रीलङ्का भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले त्यहाँका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग भेट गर्नुभएको छ। सो अवसरमा परराष्ट्रमन्त्री डा. पौडेलले श्रीलङ्काका प्रधानमन्त्री गुणवद्र्धनेसँगको भेटमा कोलम्बो र भैरहवा सिधा हवाई उडानका लागि आग्रह गर्नुभयो। 

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित समारोहमा सरिक हुन श्रीलङ्का पुग्नुभएकी मन्त्री पौडेलले नेपालमा साना जलविद्युत् आयोजनामा श्रीलङ्काको लगानी आकर्षित गर्न, कृषि क्षेत्रमा सहयोग अभिवृद्धि, शिक्षक तालिमलगायतका परियोजनामा सहकार्य गर्न सकिने सम्भावना औँल्याउनुभयो ।  

श्रीलङ्काका प्रधानमन्त्री गुणवद्र्धनेले नेपाल र श्रीलङ्काको पुरानो मित्रता रहेकाले सदैव सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। परराष्ट्रमन्त्री डा. पौडेलले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाउनुभएको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। 

त्यस्तै मन्त्री पौडेलले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र पूर्वराष्ट्रपति माहिन्दा राजपाक्षेलाई भेट गर्नुभयो।  पूर्वराष्ट्रपति राजपाक्षेले यसअघि आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्नुभयो। आफ्ना समकक्षी एमयुएम अली साबरीले आयोजना गर्नुभएको दिवाभोजमा सामेल हुँदा विभिन्न मुलुकका विदेशमन्त्रीसँग दक्षिण एसियामा जलवायु परिवर्तनको जोखिम, साझा अनुकूलन र न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने उपायबारे मन्त्री पौडेलले छलफल गर्नुभयो। सो क्रममा श्रीलङ्काको ऐतिहासिक, सांस्कृतिक सभ्यता र सम्पदाको भव्य चित्रण भएको सांस्कृतिक महोत्सव ‘लङ्कारालङ्का’मा परराष्ट्रमन्त्री पौडेल सहभागी हुनुभएको दूतावासले जनाएको छ।