नेपालमा ‘फाइभजी’ परीक्षण सेवा सुरु
2023-02-06 16:34:37cri
Share with:

नेपाल टेलिकमले ‘फाइभजी’ सेवाको परीक्षण (ट्रायल टेस्टिङ) आइतबारबाट सुरु गरेको छ। काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ। फाइभजी कम्प्याटिबल अर्थात् फाइभजी सुविधा भएका मोबाइल डिभाइस प्रयोगकर्ताले परीक्षण अवधिभर उल्लेखित दुई ठाउँमा फाइभजी चलाउन सक्ने कम्पनीले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

'हामीकहाँ फाइभजी चल्ने मोबाइल डिभाइसहरू त्यति धेरै रहेनछन्,' टेलिकमका प्रवक्त्ता शोभन अधिकारीले भन्नुभयो, 'सामसङलगायत मोबाइल उत्पादकहरूलाई आफ्ना फाइभजी डिभाइस ल्याएर परीक्षण गर्न हामीले अनुरोध गरिरहेका छौं। अन्य कुन-कुन सेटमा फाइभजी चल्छ, ती पहिल्याएर निर्माताहरूलाई परीक्षणका लागि अनबोर्डिङ गर्ने काम भइरहेको छ।'

दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा 'फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरी सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दिएको थियो। गत आर्थिक वर्ष २०७८/७९ मै परीक्षण गर्ने टेलिकमले जनाएको भएता पनि अहिलेसम्म परीक्षण हुन सकेको थिएन। इम्पोर्ट लाइसेन्स, फ्रिक्वेन्सी प्राप्तिलगायतमा भएको ढिलाइ र उपकरण आयातमा समस्या भएकाले परीक्षण मिति पर सर्दै गएको प्रवक्त्ता अधिकारीले बताउनुभयो। यसपटक भने कम्पनीको १९औं वार्षिकोत्सवका अवसरमा आइतबार फाइभजीको ट्रायल टेस्टिङ सुरु गरिएको हो।

केही समयपछि पोखरा, वीरगन्जलगायत अन्य स्थानमा पनि परीक्षण गर्दै जाने कम्पनीले जानकारी दिएको छ। दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ।