हिउँदमा सुक्खा हुँदा नेपालको कृषि उत्पादनमा ह्रास
2023-02-06 16:46:19cri
Share with:

यो वर्षको हिउँद पानी नपरेरै जाने सम्भावना देखिएको छ। माघको अन्तिम साता सुरु हुँदासम्म पानी नपरेपछि हिउदे बालीहरु गहुँ, मकै, जौ, आलुलगायतको उत्पादनमा ठूलो ह्रास आउने भएको कारोबार अनलाइनले  लेखेको छ।

नेपालको कुल कृषियोग्य जमिनमध्ये धेरै भूभागमा सिँचाइ सुविधा पुगेको छैन। आकासे पानी नपर्ने र सिँचाइ सुविधा पनि नभएपछि यसपटक हिउँदे बालीको उत्पादनमा ठूलो ह्रास आउने देखिएको हो। हिउँदमा मुख्यगरी गहुँ, मकै, जौ, आलु, तोरी, केराउ, हरियो तरकारी, उवालगायत बाली उत्पादन हुन्छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांकअनुसार देशभर २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन छ। यसमध्ये करिब १५ लाख हेक्टरमा मात्र सिँचाइ पुगेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष ७ लाख ११ हजार हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो भने ९ लाख ७९ हजार हेक्टर क्षेत्रफलमा मकै लगाइएको थियो। यस पटक हिउँदे वर्षा नहुँदा मकै, गहुँ आलुलगायतको उत्पादनमा गत वर्षको तुलनामा ठूलो ह्रास आउने देखिएको बालीविज्ञ बताउँछन्।

यस पटकको हिउँद सुक्खा हुँदा तराई, पहाडदेखि हिमालमा पनि उत्पादनमा ठूलो ह्रास आउने बाली विज्ञ डिल्लीराम शर्मा बताउनुहुन्छ। तराई र पहाडमा पानी नपर्दा र हिमालमा हिउँ नझर्दा हिउँदे बालीको उत्पादनमा करिब १५ देखि २० प्रतिशत ह्रास आउने देखिएको उहाँको भनाइ छ।

बालीविद् शर्माले तराईमा शीतलहरले गहुँलाई केही राहत मिले पनि गहुँमा जरे किरा लाग्दा धेरै बाली सखाप भएको बताउनुभयो। तराईको गहुँमा किराले गर्दा उत्पादन घट्ने उहाँको भनाइ छ। शर्मा भन्नुहुन्छ, “पहाडमा पानी नपर्दा गहुँ र मकै सुकिसकेका छन्। पानीको सिँचाइ भएको अधिकांश ठाउँमा आकासको भरमा किसानले खेती बाली लगाएका छन्। वर्षा नहुँदा गहुँ बालीको उत्पादन राम्रो छैन। जुनसुकै बाली राम्रो हुनका लागि आकाशबाट केही वर्षा हुनुपर्छ। त्यही पनि हाम्रो कृषियोग्य जमिनमा पर्याप्त सिँचाइ सुविधा नै छैन। हिमाली क्षेत्रमा उत्पादन हुन हिउँ पर्नुपर्छ। यस पटक हिमालमा हिउँ नै परेको छैन।”

अबको साताभित्रमा पानी नपरे समग्र हिउँ बालीको उत्पादनमा २० प्रतिशत ह्रास आउने देखिएको बताउनुहुन्छ शर्मा। यो साताभित्र हिमालमा हिउँ र पहाडी र तराई क्षेत्रमा पानी परे पनि विगतको तुलनामा करिब १५ प्रतिशत उत्पादन ह्रास आउने उहाँले बताउनुभयो। उत्पादनको ह्रासले आगामी दिनमा खाद्य सुरक्षामा समेत समस्या देखिने उहाँको भनाइ छ।

अर्का बालीविज्ञ डिनराम भण्डारी भन्नुहुन्छ, “हिउँदे बालीमा मात्र नभएर अन्य कृषि बालीमा हुने उत्पादनमा समेत ह्रास आउने देखिएको छ। हिउँदमा पानी नपर्दा मुख्य बाली गहुँ र मकैको उत्पादनमा ह्रास आउनुका साथै आउने चैते धान र हरियो तरकारी बालीमा पनि असर पर्छ।”

कृषि मन्त्रालयको तथ्यांकअनुसार देशभर १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ। उक्त क्षेत्रफलबाट करिब ५६ लाख १० हजार टन धान उत्पादन हुन्छ। यसमा २० प्रतिशत चैते धान पर्छ। हिउँदमा पानी नपर्दा माटो ओसिलो नभएर सुक्खा हुने हुँदा अब लगाइने कृषि बालीको उत्पादनमा समेत असर पर्ने उनको भनाइ छ। हिउँमा पानी नपर्दा तोरी बालीलाई भने ठूलो असर नपर्ने उहाँले बताउनुभयो।

पानी नपर्दा हिउँदे बाली उत्पादनमा कति ह्रास आउँछ भनेर अहिले नै यकिनका साथ भन्न नसकिने कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी बताउँछन्। पानी नपर्दा विगतको तुलनामा केही उत्पादनमा ह्रास भने आउन सक्ने उहाँले बताउनुभयो। अहिले मन्त्रालयले विभिन्न प्रदेशसँग समन्वय गरी अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो। यस पटकको हिउँदमा पानी नपर्दा हुने असरबो आगामी चैतमा मात्र थाहा हुने उहाँको भनाइ छ।