मन्दिर सारेपछि मात्रै चिनियाँ पक्षले चक्रपथ दोस्रो खण्डको काम थाल्ने
2023-02-08 16:28:31cri
Share with:

चिनियाँ पक्षले चक्रपथको दोस्रो खण्ड (कलंकी–नारायणगोपाल चोक) मा पर्ने मन्दिर सारेपछि मात्रै काम थाल्ने भएको छ। एक महिनाअघि निरीक्षणका लागि आएको चिनियाँ प्राविधिक टोलीले सडक खण्डमा पर्ने सबै मन्दिर नसारेसम्म काम नथाल्ने भन्दै फर्किएको सेतोपाटी अनलाइनले लेखेको छ। 

सडक विभाग तथा चिनियाँ टोलीले करिब एक महिनाअघि संयुक्त रूपमा दोस्रो खण्डको अवलोकन गरेको थियो। 'मन्दिर सार्ने काम पनि सकिन लागेको छ। अब सामाखुसीस्थित शिव मन्दिर मात्र सार्न बाँकी छ। त्यो सारिसकेपछि हामी काठमाडौंस्थित चिनियाँ दूतावासलाई जानकारी गराउँछौं,' सडक विभागका महानिर्देशक अर्जुनसिंह थापाले भन्नुभयो। 

त्यसपछि सडक विस्तारको जिम्मा चिनियाँ पक्षलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो। 

साइट क्लियर भएपछि मात्रै निर्माण थाल्ने अडान चिनियाँ पक्षले सुरूदेखि नै राख्दै आएको छ। सोहीअनुसार विभागले यो सडक खण्डमा पर्ने रूख, बिजुलीका पोल हटाएको बताएको छ। त्यस्तै गोंगबुको आकाशे पुललगायत अस्थायी संरचना हटाइसकिएको छ। 

११.६ किलोमिटर यो खण्डलाई चीन सरकारले ८ लेनमा विस्तार गर्ने योजना छ। चक्रपथको प्रथम खण्ड (कोटेश्वर–कलंकी) पनि चीन सरकारले नै ८ लेनमा विस्तार गरिदिएको थियो। पहिलो खण्ड निर्माणका क्रममा साइट क्लियर नभई ठेक्कमा जाँदा ढिलाई भएका कारण दोस्रो खण्डको साइट क्लियर हुनुपर्ने अडान उनीहरूले राखेका हुन्। 

यसअघि चिनियाँ पक्षले यो सडक खण्डमा पर्ने महाराजगञ्ज चोकको मुआब्जा विवाद टुंग्याएर मात्रै काम थाल्ने अडान पनि लिएको थियो। तर सडक विभागले त्यो ठाउँमा आफैंले सडक विस्तार गर्ने प्रतिबद्धता चिनियाँ टोलीलाई दिएको उहाँले बताउनुभयो। 
'चिनियाँ पक्षले अन्य स्थानमा काम गर्दागर्दै त्यहाँको विवाद मिल्यो भने त झनै सजिलो भइहाल्यो। यदि मिलेन भने पछि हामी आफैं गर्ने भन्ने छ,' थापाले भन्नुभयो। 

लामो समयदेखि महाराजगञ्ज चोकको दुई सय ४४ मिटरमा मुआब्जा विवाद छ। त्यहाँ मुआब्जा वितरण गरेर १९ घरसहित करिब ४४ कित्ता जग्गा प्राप्ति गर्नुपर्नेछ। तर त्यहाँका जग्गाधनीले आफ्नो जग्गा नछाड्ने अडान लिएका छन्। 

'२०३१ सालकै राजपत्रमा २५ मिटरसम्म जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित भएको भेटियो। त्यहाँका जग्गा धनीले मुआब्जा लिइसकेका हुन् की होइनन् भन्ने अझै स्पष्ट भएको छैन। यहाँको विवाद हटाउन बाँकी छ,' थापाले भन्नुभयो। सरकारले काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजना अघि सारेको हो। दोस्रो खण्ड अन्तर्गत चिनियाँ पक्षले कलंकीदेखि नारायणगोपाल चोकसम्म विस्तार गर्ने उल्लेख छ। 

तर, नारायणगोपाल चोकमा मुआब्जा विवाद नसुल्झिएका कारण चिनियाँ पक्षले कलंकीदेखि चाबहिलको गोपीकृष्ण हलसम्म विस्तार गर्ने उल्लेख छ। यो सडक विस्तारका लागि चालु आर्थिक वर्ष ०७९/८० मा सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। उक्त बजेटमार्फत् विभागले ढल राख्ने, सर्भिस लेन बनाउने लगायत काम गरिरहेको जनाएको छ।