प्रेम दिवसमा रानीमहलको ब्रान्डिङ हुने
2023-02-09 17:36:48cri
Share with:

तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल ब्रान्डिङ गरिने भएको छ। फागुन २ गते मनाइने दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा २५ विशेष जोडीले रातो गुलाबको फूल साटासाट गर्ने गोरखापत्र अनलाइनले लेखेको छ। 

वि.सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटी पौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस– २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमै छ। रानीमहल दरबारको बायाँतर्फ शीतलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन्। 

 शिवको मन्दिरमा जोडिले सिक्का साटेर आफ्नो जोडी अमर बनाउने बर माग्ने कार्यक्रम रहेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो।  रानी तेजकुमारीले दैनिक पूजा गर्ने यो मन्दिरमा  सिक्का साटे सम्बन्ध युगौँयुग रहने उहाँको भनाइ छ।

प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा परेकोले तानसेन नगरपालिकासँग सहकार्य गरी यसलाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न लागिएको नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो। उहाँले २५ जोडिलाई रातो कार्पेटमा राखेर रातो गुलाबको फूल साटासाट गर्ने गरी सहभागी गरिने बताउनुभयो। पन्तका अनुसार सहभागी विशेष २५ जोडिलाई बिहानको खाजा ,दिउँसोको खाजा, साँझको खानासहित आवासको पनि व्यवस्था गरिनेछ।  

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले प्रेमको प्रतीकको रूपमा रहेको रानि महललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। ज्ञवालीका अनुसार पर्यटन प्रवर्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ।  

विसं १९६० मा खड्ग शमशेरले श्री ३को पदसहित शासन सत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफ्नो हातमा लिएका थिए। खड्ग शमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य वस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानी महल बेवारिसे बन्न पुगेको स्थानीय बासिन्दाहरू बताउँछन्। दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ’प्रेमको प्रतीक’ का रूपमा लिइने गरिन्छ।