नेपालका लागि चिनियाँ राजदूतद्वारा सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेटवार्ता
2023-02-09 17:21:21cri
Share with:

 

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट गर्नु भएको छ। सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ। भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले सभामुख घिमिरेलाई पठाउनु भएको शुभकामना सन्देश हस्तान्तरण गर्नु भएको केटीएमदैनिक अनलाइनले लेखेको छ।

घिमिरे यही माघ ५ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनु भएको हो। चिनियाँ राजदूत सोङले सभामुख घिमिरे वरिष्ठ राजनीतिक व्यक्ति रहेको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अथक भूमिका निर्वाह गरेको भन्दै सफल कार्यकालको शुभकामना दिनुभयो।

सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गर्दै ‘एक चीन नीति’ प्रति नेपाल दृढ रहेको, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्व दिने उल्लेख गर्नुभयो। उहाँले कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो। भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो।

भेटमा सभामुख घिमिरेले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले गत भदौमा गर्नु भएको नेपाल भ्रमणमा भएको अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारी कार्यान्वयन गर्न संघीय संसद सचिवालयले कार्यआरम्भ गरेको जानकारी दिनुभयो।

राजदूत सोङले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले तीन वर्षअघि गर्नु भएको भ्रमणपछि नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा चीनले ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। उहाँले नेपालको समृद्धिको चाहनालाई चीनले उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिनुभयो। राजदूत सोङले चिनियाँ नाकाहरुबाट हुने ढुवानी क्षमतामा सुधार भएको जनाउँदै आगामी दिनमा चीनतर्फका ६ वटै नाका क्रमशः खुलाउँदै जाने प्रतिबद्धता जनाउनुभयो।