सुरुङ मार्गको भयो ब्रेक थ्रु
2023-02-09 17:30:53cri
Share with:

राष्ट्रिय गौरवको त्रिदेशीय उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्गको ब्रेक थ्रु भएको छ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको एमभी दुगढ हाइड्रो पावर प्रालिले आफ्नै लगानीमा निर्माण सुरु गरेको यो सुरुङ मार्ग निर्माणको ब्रेक थ्रु भएको  कम्पनीले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

एक हजार ९४ दशमलव १८ मिटर लामो र ६ वाई ५.५ डायमेन्सनको सुरुङ मार्गको ब्रेक थ्रु भएको हो। सुरुङ मार्गभन्दा लप्चीतिर देउराली साइड एक किलोमिटर र देउराली खरानेखोलासम्म एक किलोमिटर सडक ट्र्याक खोल्ने काम पनि सम्पन्न हुन लागेको छ। सुरुङ मार्ग सम्पन्न हुँदा अरू सडक पनि बनेर आयोजनाको ड्यामसम्म यातायात सञ्चालन हुने सुमो कन्स्ट्रक्सन प्रालिका साइड कर्मचारी हेमराज तामाङले जानकारी दिनु भयो। 

सडक सञ्जाल नजोडिँदा बिगु गाउँपालिकाका बासिन्दा भए पनि लप्चीवासी अर्कै मुलुकका नागरिक झैँ छन्। लामाबगरबाट लुम्नाङ एक दिन र लप्ची दुई दिनको पैदल यात्रापछि मुस्किलले पुगिन्छ। वर्षा लागेपछि त आवतजावत नै पूरा बन्द हुन्छ। सुरुङ मार्ग बनेर ३२ किलोमिटर सडक बनेपछि लप्सीवासीको कायापलट नै हुने वडाध्यक्ष मेमबहादुर तामाङले बताउनु भयो । 

सडक नहुँदा यहाँ पाँच वटा हाइड्रोपावर बन्न सकेका छैनन्। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध भरिएपछि ओहोरदोहोर गर्ने परम्परागत बाटोसमेत बन्द हुँदा चौँरी र भेडा बाख्रा समेत यही सुरुङ मार्गबाट हिँड्न मिल्ने गरी निर्माण भएको हो।