त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार हुँदै
2023-02-10 16:43:24cri
Share with:

 

नेपालको पाँचौँ पुरानो जलविद्युत् आयोजना त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिने भएको छ। वैशाखदेखि सुरु भएको केन्द्रको जलाशय पुनस्र्थापनाको काम एक महिनाभित्र र विद्युत्गृहलाई स्वचालित बनाउने काम एक वर्षभित्र सक्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

वि.सं. २०२३ मा सञ्चालनमा आएको यो जलविद्युत् केन्द्र ७५ करोड रुपियाँ लागतमा जीर्णोद्धार तथा आधुनिकीकरण गर्न लागिएको हो। नुवाकोटको विदुर नगरपालिका–९, त्रिशूली बजारमा रहेको सो विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चौरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो। 

जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणलाई आधुनिक तथा स्वचालित बनाउन लागिएको छ। करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवा हटाएर त्यसको पुनस्र्थापनाको काम सुरु गरिएको छ। जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ। यो नहर सञ्चालनमा रहेकाले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिएको माटो, बालुवा निकाल्ने काम भइरहेको छ। विद्युत्गृहलाई स्वचालित बनाउन ठेक्का सम्झौता भई केही उपकरण उत्पादनको क्रममा रहेको र पावर ट्रान्सफर्मरलगायतका उपकरण केन्द्रमा आपूर्ति भइसकेको प्राधिकरणले जनाएको छ।