नेपाल सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरेको अर्थमन्त्री पौडेलको भनाइ
2023-02-11 16:48:59cri
Share with:

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा कमसल र पुराना सवारीसाधन भित्रिन नदिन सबै चनाखो हुनुपर्नेमा जोड दिनुभएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औं वार्षिक साधारणसभाका अवसरमा पौडेलले सवारीसाधनलाई विलासिताका वस्तु मात्र मान्न नहुने पनि बताउनुभयो। सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहनको नीति लिएको उहाँको भनाइ छ ।‘विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट हामी सबैले रोक्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो।

 

सवारीसाधनलाई सरकारले कहिल्यै विलासिताको वस्तुको सूचीमा नराखेको बताउँदै उहाँले राज्यले सबैभन्दा धेरै लगानी सडक क्षेत्रमा गर्ने भएकाले सोही सडकमा गुड्ने सवारीसाधनलाई विलासिताको वस्तुको सूचीमा राख्न नहुने तर्क गर्नुभयो।‘केही समयअघिसम्म मोबाइललाई विलासिताको साधन मानिए पनि यो अत्यावश्यक बनिसकेको छ । सवारीसाधन पनि केही समयअघि विलासिताको साधन थियो होला, अब त्यस्तो अवस्था रहेन,’ उहाँले भन्नुभयो। विद्युतीय चार्जिङ स्टेसनको पूर्वाधारमा सरकारले सहयोग गर्ने र त्यसमा व्यवसायी पनि अग्रसर हुनुपर्ने भन्दै उहाँले अर्थतन्त्रका बाह्य सूचकमा केही सुधार देखिए पनि अन्य केहीमा सुधार हुन बाँकी रहेको स्वीकार्नुभयो।

नयाँ सरकारसँगै अर्थतन्त्रमा सुधारको संकेत देखिएको र अटो क्षेत्रका समस्या पनि केही हदसम्म समाधान भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताउनुभयो। नेपालको अटोमोबाइल क्षेत्रले सबैभन्दा बढी कर तिर्ने गरेको छ । तर यसको व्यापार अहिले ८० प्रतिशत खस्किएको छ। सरकारले विद्युतीय सवारीमा लिएको नीति राम्रो भए पनि पूर्वाधारमा समस्या रहेका कारण जुन किसिमले यसको प्रयोग बढ्नुपर्ने हो, त्यो बढ्न नसकेको थापाको भनाइ छ । अटोमोबाइल क्षेत्रले राजस्वमा २१ प्रतिशत योगदान गरेको र विज्ञापन बजारको ४० प्रतिशत हिस्सा ओगटेको उनको दाबी छ । अबको पाँच वर्षमा विद्युतीय सवारी आयात ५० प्रतिशत हाराहारी बढ्ने पनि उहाँले बताउनुभएको कान्तिपुर अनलाइनमा खबर छ।