विदेशी अधिकारीसँग आर्थिक कूटनीतिका कुरा गरेका छौं : परराष्ट्रमन्त्री पौड्याल
2023-02-11 16:53:33cri
Share with:

परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरुसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताउनुभएको छ। शुक्रबार संघीय संसद्‍को संयुक्त बैठकपछि संसद्‍ भवन बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरुसँग विकास सहायता र आर्थिक कुटनीतिको कुरा भएको बताउनुभयो।

 

उहाँले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गर्नुभयो।  मन्त्री पौड्यालले भूराजनीतिक विषयमा भने कुनै पनि भ्रमणमा कुरा नभएको भन्दै थप्नुभयो, ‘अहिले जति पनि भ्रमणहरु भएका छन् । हामीसँगको छलफलमा हामीले ती भ्रमण गर्न आउने उच्चस्तरीय टोलीसँग हामीले विकास सहायताका कुरा गरेका छौं। आर्थिक कूटनीतिका कुरा गरेका छौं । व्यापार सम्बन्धका कुरा गरेका छौं । भूराजनीतिक तहका कुरा हामीले अहिले गरेका छैनौं।

 

मन्त्री पौड्यालले आफूहरुले मित्रराष्ट्रहरुलाई विकास साझेदार ठानेको साथै विकास र कूटनीतिमा सहयोग मागेको पनि बताउनुभयो।

कान्तिपुर अनलाइनका अनुसार पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएपछि नेपालमा अमेरिकी कूटनीतिज्ञहरूको भ्रमण तीव्र बनेको छ । पछिल्लो एक महिनामा चार अमेरिकी महिला अधिकारीहरू नेपाल भ्रमणमा आउने तय भइसकेको छ। यूएसएआईडीकी प्रमुख समान्था पावर र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरिसकेका छन्।