भू-परिवेष्ठित मुलुकबाट भू-जडित देशमा परिणत हुने नेपालको सपना पूरा हुँदै गएको नेपालका लागि चिनियाँ राजदूतको भनाइ
2023-02-12 16:45:36cri
Share with:

 

नेपालका लागि चिनियाँ राजदूत छन सोङले भू-परिवेष्ठित मुलुकबाट भू-जडित देशमा परिणत हुने नेपालको सपना पूरा हुँदै गएको बताउनु भएको छ। नेपाली पर्यटन व्यवसायीहरुका लागि पाँचौं चिनियाँ भाषा प्रशिक्षण कक्षाको उद्घघाटन समारोहलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्नुहुँदै राजदूत छन सोङले सो विचार व्यक्त गर्नुभएको हो।

चीन र नेपालबीचको मित्रताको इतिहास लामो र पुस्तौदेखि मैत्रीपूर्ण रहेको बताउनु हुँदै राजदूत  छन सोङले दुर्ई देशका नेताहरूको साझेदारीमा चीन र नेपालले कोरोना महामारी विरुद्ध संयुक्त रुपमा संघर्ष गरेको बताउनु भयो। ‘बेल्ट एण्ड रोड’ को उच्च गुणस्तरको संयुक्त निर्माणले निरन्तर प्रगति गरेको भन्दै उहाँले चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन नयाँ चरणमा पुगेको जानकारी दिनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, केरूङ रसुवा नाकाबाट दुईतर्फी ओसारपसारको पुनः सुरुवात लगायतका प्रशंग निकाल्नु हुँदै राजदूत छन सोङले हिमालय पार त्रि–आयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माणको कामलाई तीव्रता दिइएको पनि बताउनु भयो।


प्रख्यात चिनियाँ भिक्षु हु यन साङको नेपाल भ्रमण, नेपाली राजकुमारी भृकुटीको सनचन गाम्पोसँगको विवाह, अरनिकोले निर्माण गर्नुभएको पैचिङ म्याओयिङ स मन्दिरको स्वेत स्तुप जस्ता ऐतिहासिक तथा साँस्कृतिक विषयबस्तुले चीन र नेपालबीचको सम्बन्धलाई अझ नजिक बनाएको र विश्वको सर्वोच्च शिखर सगरमाथा हजारौं वर्षदेखि चीन नेपाल मित्रताको साक्षी रहेको पनि राजदूत छन सोङले उल्लेख गर्नुभयो।

केही समयअघि नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सार्वजनिक रूपमा चिनियाँ पर्यटकको भ्रमणको प्रतीक्षामा रहेको भन्ने जानकारी आफुले प्राप्त गरेको प्रशंग उल्लेख गर्नुहुँदै छन सोङले चीनले आफ्ना नागरिकहरूका लागि विदेश यात्रा क्रमशः पुनः सुरु गरिरहेको र आधिकारिक रूपमा विदेशमा समूहगत भ्रमणहरू पुनः सुरु भएको जानकारी दिनुभयो। नेपालले आफ्नो अनुपम मनमोहक प्राकृतिक दृश्य, समृद्ध र विविध मानवीय संस्कृतिको माध्यमबाट  ठूलो संख्यामा चिनियाँ पर्यटकहरूलाई आकर्षित गरेको बताउनु हुँदै छन सोङले सुस्ताएको नेपालको पर्यटन क्षेत्रमा बसन्त ल्याउने ढंगले चिनियाँ पर्यटकहरु आउने विश्वास व्यक्त गर्नुहुँदै यत्तिवेलै निराश नहुन पनि नेपाली पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो।

चिनियाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी नेपाली पर्यटन व्यवसायीहरुलाई राजदूत छन सोङले भन्नुभयो, “मलाई आशा छ कि तपाईंहरुले यस प्रशिक्षण कक्षाको पूर्ण सदुपयोग गर्नुहुनेछ, चिनियाँ भाषा राम्रोसँग सिक्नुहुनेछ, आफ्नो सीपमा सुधार गर्नुहुनेछ, आफ्नो व्यवसायिक विकासलाई चीन-नेपाल पर्यटन सहयोग र आपसी सांस्कृतिक सिकाइको समग्र स्थितिमा एकीकृत गर्नुहुनेछ र चीन–नेपालको विकास र जनस्तरीय सम्बन्धमा सकारात्मक योगदान दिनुहुनेछ।”

सो समारोहमा बोल्नु हुँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले चिनियाँँ पर्यटक घुम्न जान पाउने २० वटा देशहरुमा नेपालको नाम समावेश नभएको गुनासो गर्नुहुँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउन चिनियाँ पर्यटकहरुलाई नेपाल पठाउन चिनियाँ राजदूतमार्फत चीन सरकारलाई आग्रह गर्नुभयो।

नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा ५ वर्षभित्रमा २०० जना नेपालीलाई चिनियाँ भाषा तालिम दिने सम्झौतामा उल्लेख भएको र सोही सम्झौता अनुसार पाँचौं चिनियाँ भाषा तालिमको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो। पाँचौं चिनियाँ भाषा कक्षा यहि फेबु्रअरी १० तारिखदेखि आउँदो अगस्त ९ तारिखसम्म सञ्चालन हुने पनि डा. शाहले जानकारी दिनुभयो।

डाक्टर साहले नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद् स्थापना कालदेखि नै नेपाल र चीनबीचको सम्बन्धलाई शैक्षिक तथा साँस्कृतिक क्षेत्रबाट अघि बढाउन लागिपरेको बताउनु भयो।