खानेपानी आयोजनामा विश्व बैंकको नेपाललाई १० अर्ब ४० करोड ऋण सहयोग
2023-02-12 16:50:09cri
Share with:

 

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनामा विश्व बैंकले नेपाललाई १० अर्ब ४० करोड रुपैयाँ (८ करोड डलर) सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ। सो आयोजनाको काम औपचारिक रुपमा थालनी समेत गरिएको छ। खानेपानी मन्त्री अब्दुल खान तथा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले संयूक्त रूपमा शुक्रबार यस आयोजनाको शुभारम्भ गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। 

विश्व बैंकबाट ८ करोड अमेरिकी डलरको ऋण र नेपालको दुई करोड अमेरिकी डलर बराबरको आन्तरिक लगानीमा कार्यान्वयन हुने यस आयोजनाले सहभागी पालिकाहरूमा सुधारिएको र सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्ने मन्त्रालयले जनाएको छ। ‘संघीयताको सिद्धान्त अनुरूप दिगो र समतामूलक विकास प्रक्रियामा टेवा पुर्‍याउने हेतुले कार्यान्वयन गरिने यस आयोजना सम्बन्धी कार्यक्रमहरूको योजना तर्जुमा र कार्यान्वयन समेत स्थानीय पालिकाहरूबाट सञ्चालन गरिने छ’ मन्त्रालयले एक विज्ञप्तिमार्फत भनेको छ ‘यस आयोजनाले स्थानीय स्तरमा सेवा प्रवाह र सोसँग सम्बन्धित संस्थागत क्षमता सुदृढीकरणलाई जोड दिनेछ।'

मन्त्रालयका अनुसार यो आयोजना कर्णाली प्रदेशको वीरेन्द्रनगर र शारदा नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका दिपायल, सिलगढी नगरपालिका एवम् बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिका गरी जम्मा छ वटा पालिकामा कार्यान्वयन हुने छ। विश्व बैंक कन्ट्री डाइरेक्टर जेर्भोसले यस आयोजनाबाट चार लाखभन्दा बढी जनसंख्यालाई वातावरण अनुकुल, समावेशी एवम् सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच पुर्‍याउन तथा महिलाहरूलाई खानेपानी तथा सरसफाइ क्षेत्रमा रोजगारीका अवसरहरू बढाउन मद्दत गर्ने खालका सीप, प्रशिक्षण संचालन हुने बताउनुभयो।