भैरहवामा अन्तर्राष्ट्रिय उडान फागुन अन्तिममा
2023-02-12 16:48:20cri
Share with:

 

गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प रहेको अन्तर्राष्ट्रिय उडान आगामी फागुन अन्तिमबाट पुनः सञ्चालनमा आउने भएको छ। मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी भएपछि जहाज उडान तथा अवतरण गर्न नसकेपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान हवाई सुरक्षालाई ध्यानमा राख्दै मौसम खुलेपछि मात्रै सञ्चालनमा आउने भएको गोरखापत्र अनलाइनले लेखेको छ।

भैरहवामा सुरुदेखि नै अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजले हिउँदे उडान तालिकाअनुसार हाल काठमाडौँबाट उडान गर्दै आएको छ। शुक्रबारसम्म काठमाडौँबाट उडान अनुमति पाएको जजिराले फागुन ३ गतेसम्म उडान अनुमति थप्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ तर प्राधिकरणले भने जजिराले मागेको अनुमति स्वीकृत गरिसकेको छैन।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “जजिराले काठमाडौँका लागि प्राधिकरणसँग मागेको थप उडान अनुमति स्वीकृत गरेको छैन। उडान सुरक्षा पहिलो प्राथमिकता भएकाले मौसममा पूर्ण सुधार नहुञ्जेल प्राधिकरणले भैरहवा विमानस्थल सञ्चालनकै लागि उडानमा बाध्य गर्दैन।”

हाल यो विमानस्थलमा भिजिबिलिटी नभएको समयमा समेत उडान तथा अवतरण गराउन सक्ने उपकरण इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ तर उपकरणको फ्रिक्वेन्सी भारतीय भूमिमा परेपछि उक्त उपकरण सञ्चालनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडान रोकिएको हो। दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान रोकिए पनि जडान गरिएको उपकरण सञ्चालनका लागि भारतसँग कूटनीतिक तवरबाट छलफलसमेत हुन सकेको छैन।

प्रतिकूल मौसमलाई देखाउँदै गत  पुस ३ गतेदेखि जजिरा एयरलाइन्सले र मङ्सिर २९ गतेदेखि हिमालय एयरलाइन्सले उडान गरेका छैनन्। विमानस्थलका प्रवक्ता सुवास झाले अपेक्षाअनुसार अझै मौसममा सुधार नहुँदा मार्च पहिलो साताबाट मात्रै उडान हुने अपेक्षा गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यात्रुको अभाव र मौसम खराबीका कारण देखाउँदै भैरहवामा उडान बन्द गरेका हवाई कम्पनीले पनि सहज हवाई रुट, यात्रु अभाव, म्यानपावर सेवा, मेडिकल, नयाँ श्रम स्वीकृति, अभिमुखीकरणलगायत सबै सेवा उपलब्ध नरहेकोलगायतका कारण देखाउने गरेका छन्।”

भैरहवामा विमानस्थल सञ्चालनमा आएसँगै कुवेतको जजिरा एयरवेजको र कात्तिक १७ गतेदेखि हिमालय एयरलाइन्सले उडान सुरु गरेको थियो।  प्राधिकरणका अनुसार विमानस्थल सञ्चालनमा आएदेखि यो विमानस्थलमा २४८ अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएका छन्। हालसम्म उक्त विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २८ हजार ४८० जना यात्रुले हवाई सेवा लिएका छन्।

विमानस्थल सञ्चालनका लागि वार्षिक आठ करोड ८१ लाख रुपियाँ खर्च हुने यो विमानस्थल सञ्चालनका लागि दैनिक पाँचवटा अन्तर्राष्ट्रिय उडान आवश्यक पर्छ तर हाल आन्तरिक उडानमा निर्भर यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सले भैरहवाबाट काठमाडौँ र पोखरा गन्तव्य बनाएर उडान गर्दै आएका छन्। विमानस्थलबाट आन्तरिकतर्फ दैनिक १८ देखि २५ वटा उडान हुने गरेका छन्। हाल बिहान समयमै मौसन नखुल्दा आन्तरिक उडानसमेत प्रभावित हुँदै आएका छन्।