पर्यटकीय नगरी चितवनको सौराहामा सडक फुड फेस्टिबल सुरु
2023-02-13 16:03:11CRI
Share with:

प्रणय दिवसको अवसरमा चितवनको सौराहामा सडकमा फुड फेष्टिबल सुरु भएको छ । तीनदिनसम्म चल्ने फेस्टिबलको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहा रहेको छ । प्रणय दिवसका अवसरमा आन्तरिक पर्यटकलाई सौराहा ल्याउन भन्दै फुड फेष्टिवल आयोजना हुँदै आएको छ ।

 

सडकमै खाऔं, सडकमै रमाऔ भन्ने नाराका साथ सौराहाको हात्तीचोकदेखि राप्ती ड्याकसम्मका विभिन्न होटल तथा रेष्टुरेन्टहरुले विभिन्न खानाका परिकार बनाएर पर्यटकलाई खुवाउने फुड फेष्टिबलका संयोजक ध्रुव गिरी बताउनुहुन्छ। नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकारहरु फुड फेस्टिबलमा उपलब्ध हुने गिरीले बताउनुभयो। फुड फेष्टिवल हुने क्षेत्रमा विभिन्न आर्कषक झिलिमिली बत्तिहरुसहित सजाइएको छ। फेष्टिवल सुरु भएको जनाउ दिन आज आइतवार विभिन्न संघसंस्थाहरुले सांस्कृतिक भेषभूषासहितको झाँकी प्रर्दशन गरेर बजार क्षेत्र परिक्रमा गरेको अनलाइनखबरले जनाएको छ।

फेस्टिबलमा फागुन १ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म र फागुन २ गते प्रणय दिवस को दिन साँझ ५ बजेदेखि राति ११ बजेसम्म विभिन्न कार्यक्रम आयोजना हुनेछ। सांस्कृतिक कार्यक्रमहरु समेत फेष्टिवलमा राखिएको आयोजकको भनाइ छ । १७ औं संस्करणको यसपटकको फेस्टिबलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने र करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ। नेपाल कै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको सौराहामा पछिल्लो समयमा स्वदेशी र विदेशी पर्यटकहरुको संख्यामा कमि आएको व्यवसायीहरुले बताइरहँदा फुड फेष्टिबलले पर्यटकहरु आर्कषित गर्ने विश्वास आयोजकको छ। अघिल्ला पटकका फेष्टिबलमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिए पनि यसपटक खासै त्यस्ता कार्यक्रम आयोजना गरिएका छैनन् । सौराहाका होटलहरुले अघिल्ला फेष्टिबलमा विभिन्न छुट अफर दिने गरेको भए पनि यसपटक कुनै छुटको व्यवस्था गरिएको छैन।