पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै रात्रिकालीन सेवाको तयारी
2023-02-13 16:02:18CRI
Share with:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सेवाका लागि आवश्यक तयारी पूरा भएको छ। सो उडानसँगै रात्रिकालीन उडान सेवासमेत सञ्चालन गरिने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभएको छ। उहाँले २३ फेब्रुअरी (फागुन ११)देखि अन्तर्राष्ट्रिय विमान उडानको तयारी रहेको जानकारी दिनुभयो। गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दिउँसो चार बजेपछि नियमित उडान रहेको छैन। फेब्रुअरी २३ पछि रात्रिकालीन पनि उडान हुने जनाइएको छ। विमानस्थल प्रमुख गौतमका अनुसार अहिलेसम्म आन्तरिक उडान मात्र भएका छन्। अब भने अन्तर्राष्ट्रिय कम्पनीले पनि उडान गर्ने गौतमले सुनाउनुभयो।

 

आईएफआर प्रविधिमा उडान र अवतरण गराउँदा रातिको समयमा पनि विमानस्थल सञ्चालन हुने जानकारी उहाँले दिनुभयो। त्यो बेला उडान र अवतरण गराउँदा उपकरणको प्रयोग गरिन्छ। उहाँले रात्रिकालीन उडानका लागि अहिले सबै कर्मचारीलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो। तीमध्ये कोरियन एयर, फ्लाई दुबई, कतार, थाई स्माइल, जजिरा, हिमालयन, बुद्ध एयरले चासो दिएको उहाँले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय उडानको चाहिने आवश्यक सरकारी कार्यालयहरू भन्सार, अध्यागमन, क्वारेन्टिन, मनिचेन्जरदेखि सबैखाले सुविधा विस्तारको कार्य भइरहेको छ। यस अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दैनिक रूपमा २६ उडान (ल्यान्डिङ र टेकअफ)  भएका छन्। सबैभन्दा बढी काठमाडौँपोखरा रुट नै हो। त्यसपछि भरतपुरभैरहवा र नेपालगञ्जमा कहिलेकाहीँ उडान हुने गरेको छ।

 

जनवरी १ देखि व्यावसायिक रूपमा विमानस्थलबाट उडान सञ्चालन गरेपछि १२ मा मात्र विमानस्थल सबैखाले हवाई उडानका लागि उडान योग्य रहेको भन्दै प्राधिकरणले एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी) प्रकाशित गरेको गोरखापत्र अनलाइनले खबर लेखेको छ।