देशभर बिजुली पुर्‍याउन अझै ५० अर्ब लाग्ने
2023-02-13 16:04:03CRI
Share with:

देशको करिब ९६ प्रतिशत भूभागमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। मंसिर अन्त्यसम्ममा राष्ट्रिय ग्रिड (प्रसारण लाइन) बाट करिब ९२ र वैकल्पिक ऊर्जाका माध्यमबाट ४ प्रतिशत भूभागमा विद्युतीकरण भएको प्राधिकरणले जनाएको हो। बाँकी ४ प्रतिशत भूभागमा विद्युतीकरणका लागि अझै करिब ५० अर्ब रुपैयाँ लाग्ने प्राधिकरणको अनुमान छ

 

प्राधिकरणले आगामी आर्थिक वर्षभित्र सबै पालिकामा पूर्ण विद्युत् पुर्‍याउने लक्ष्य राखेको छ। हाल राष्ट्रिय ग्रिडको पहुँच नभएको क्षेत्रमा वैकल्पिक ऊर्जाका माध्यमबाट प्राधिकरणले विद्युतीकरण गर्दै आएको छ। अहिले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी), युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआबी) ले देशका दुर्गम स्थानमा नवीकरणीय ऊर्जा माध्यमबाट विद्युतीकरण गर्न सहायता गरिरहेको प्राधिकरणले जनाएको छ। एआईबी र ईआईबीको ३० अर्ब रुपैयाँ र प्राधिकरणको २० अर्ब रुपैयाँ गरी करिब ५० अर्ब लगानीमा देशलाई पूर्ण विद्युतीकरण गर्न सकिने प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवाल बताउनुहुन्छ।

 

राष्ट्रिय ग्रिडको लाइन नपुगेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले लघु तथा साना जलविद्युत्, मिनी ग्रिड, सौर्य प्रणालीलगायत नवीकरणीय माध्यमबाट विद्युत् सेवा दिने गरेको छ। दिगो विकास लक्ष्य पूरा गर्ने अवधि सन् २०३० सम्ममा सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभ रूपमा नवीकरणीय ऊर्जा उपलब्ध गराउने उद्देश्यका साथ केन्द्रले काम गरिरहेको एईपीसीका वरिष्ठ अधिकृत कृष्णचन्द्र पौडेलको भनाइ छ। एईपीसीले तराईका जिल्लामा सिँचाइको काम पनि गर्दै आएको उहाँले बताउनुभयो।

 

प्राधिकरणले आन्तरिक उत्पादन खपतका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप बलियो बनाउने तयारी गरेको छ

७५३ पालिकामध्ये अब करिब ३०/३५ गाउँपालिकामा मात्र विद्युतीकरण हुन बाँकी रहेको निर्देशनालय प्रमुख सिलवालको भनाइ छ

 

भौगोलिक कठिनाइ र ग्रिडको लाइन पुग्न नसक्ने क्षेत्रमा वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युतीकरण गर्ने योजनामा प्राधिकरण पुगेको छ। त्यसका लागि बोलपत्र आह्वान गर्ने तयारीमा रहेको प्राधिकरणले जनाएको छ

 

पूर्ण विद्युतीकरणका लागि इलाम, पाँचथर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, संखुवासभा, भोजपुरमा बोलपत्र आह्वान गरिएको छ। दार्चुला र डोल्पामा पनि पूर्ण विद्युतीकरणका लागि बोलपत्र आह्वान गरिएको छचालु आर्थिक वर्षभित्र बिजुली नपुगेका सबै स्थानमा बोलपत्र आह्वान गर्ने योजना प्राधिकरणको छ,’ सिलवालले भन्नुभयो, ‘अर्को आर्थिक वर्षभित्र सबै पालिकामा बिजुली पुग्नेछ जुम्ला, कालिकोट, हुम्ला, मुगु, बैतडी, बझाङ, बाजुरामा एआईआईबीको सहायताले विद्युतीकरण प्रक्रियामा रहेको सिलवालले जानकारी दिनुभयो। सल्यान, सुर्खेत र दैलेखका बिजुली नपुगेका स्थानका लागि पनि बोलपत्र आह्वान गरिएको छ

 

प्राधिकरणले गत साउनदेखि मंसिर अन्त्यसम्म पाँच महिनामा १ लाख ७९ हजार ग्राहक बढाएको छ। गत असार मसान्तसम्म करिब ४७ लाख ६६ हजार ग्राहक रहेकोमा मंसिर अन्त्यसम्ममा करिब ४९ लाख ४५ हजार पुगेको हो। यसमा सामुदायिक र नवीकरणीय ऊर्जाका ग्राहक समावेश छैनन्। प्राधिकरणका अनुसार राष्ट्रिय ग्रिड र नवीकरणीय ऊर्जाका गरेर करिब ५४ लाख ग्राहक पुगेका छन्