तनहुँको बन्दीपुरमा चीनको ग्रेटवालको झल्को दिलाउने मिनी ग्रेटवाल बन्दै
2023-02-14 15:50:15CRI
Share with:

कोरोना महामारीपछि तनहुँको बन्दीपुर घुम्न जाने पर्यटकको संख्या बढ्न सकेको छैन। मुलुकमा विदेशी पर्यटक आगमन बढ्न नसक्दा पर्यटकीय गन्तव्यहरूमा चहलपहल कम छ। कतिपय ठाउँ आन्तरिक पर्यटकले भरिभराउ भए पनि बन्दीपुरको पर्यटन लामो समयदेखि थला परेको देखिन्छ।त्यसैले पर्यटक बढाउन बन्दीपुर गाउँपालिकाले सम्बन्धित निकायसँगको सहकार्यमा विभिन्न कार्यक्रमको योजना बनाएको अध्यक्ष सुरेन्द्र बहादुर थापा बताउनुहुन्छ।

उहाँका अनुसार बन्दीपुरका घुम्नलायक गन्तव्य अब मोबाइलबाटै पढ्न, हेर्न र सुन्न मिल्ने छ। यसका लागि गाउँपालिकाले 'क्युआर कोड बोर्ड' तयार गर्दैछ। अबको एक महिनाभित्र सञ्चालनमा आउनेछ। योसँगै पर्यटकले आफू जान चाहेको ठाउँबारे स्थानीयलाई नसोधी सहजै विस्तृतमा बुझ्न पाउने छन्। 'यहाँका ठाउँहरूबारे इतिहास नै समेटेर एउटा डकुमेन्ट्री तयार हुँदैछ। विभिन्न भाषामा लिखित, अडिओ र फोटो हुन्छ,' गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो, 'बन्दीपुरका कुनै गन्तव्यबारे बुझ्न परे मोबाइलमा स्क्यान गरेर सबै जानकारी लिन सकिन्छ।'

 

अहिले विभिन्न दस गन्तव्यको क्युआर कोड तयार भइरहेको छ। क्युआरमा बन्दीपुर बजारसँगै खड्गदेवी, सहिदपार्क, टुँडिखेल, थानीमाई, सिद्ध गुफा, मिनी ग्रेटवाल, चन्द्रकोट गढी, विन्ध्यवासिनी मन्दिर र होमस्टेका कथा र जानकारी हुनेछ।

 

हाल बन्दीपुरमा मिनी ग्रेटवाल बन्दैछ। चीनको ग्रेटवालको झल्को दिलाउने बन्दीपुरको मिनी ग्रेटवाल पर्यटकको आर्कषण केन्द्र बन्ने उहाँले बताउनुभयो। मिनी ग्रेटवाल स्थानीय ढुंगा प्रयोग गरी बनाइएको तीन किलोमिटर लामो पर्खाल हो। पर्खालसँगै पदमार्ग छ। बन्दीपुर गाउँपालिका२ को थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पर्खाल र पदमार्ग मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ।

 

पर्यटकीय गन्तव्य थप्ने उद्देश्यले तीन वर्षअघि गाउँपालिकाले मिनी ग्रेटवाल बनाउन थालेको हो। यसमा १० करोड रूपैयाँ खर्च हुने अनुमान छ। यो लगानी पालिका र केन्द्र सरकारले गर्ने उहाँले जानकारी दिनुभयो। हालसम्म डेढ किलोमिटर पर्खाल बनिसकेको छ। बजेट अभावका कारण काम निरन्तर हुन सकेको छैन।

 

मिनी ग्रेटवालको यात्रा बन्दीपुर बजारबाट सुरू हुनेछ। करिब तीन सय मिटर उकालो चढेपछि थानीमाई डाँडा पुगिन्छ। डाँडा पुगेपछि बन्दीपुर छर्लंग देख्न सकिन्छ। यो बाटो हाइकिङका लागि पनि प्रसिद्ध छ। डाँडाबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, निलगिरि, मनास्लु, लमजुङ र गणेश हिमालका दृश्य देखिन्छ। दक्षिणतर्फ पाल्पा बजार देखिन्छ। त्यहीँबाट पश्चिमतर्फ मिनी ग्रेटवाल सुरू हुन्छ। मिनी ग्रेटवाल सञ्चालनमा आएपछि पर्यटक आगमन बढ्ने उहाँको विश्वास छ। 'चाइनाको ग्रेटवाल पुग्न धेरैको पहुँच नहोला तर बन्दीपुर पुग्दा चीनको ग्रेटवालको झल्को मेटिन्छ,' उहाँ भन्नुहुन्छ।

 

त्यस्तै हाल निर्माणधीन केबलकार पनि बन्दीपुरको अर्को आर्कषण बन्ने छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तीन अर्ब रूपैयाँ लगानीमा केबलकार, रेष्ट्रो-कार र तारेहोटल बनाइरहेको छ। विशेषगरी केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित निर्माण भइरहेको यो एड्भेन्चर मुलुककै रमणीय हुने विश्वास कम्पनीको छ।

यो केबलकार कम्पनीले आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेको छ। बन्दीपुर पुग्नेमध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी पर्यटक छन्। गाउँपालिकाको पहिलो प्राथमिकता भने आन्तरिक पर्यटक नै छन्। अध्यक्ष थापाका अनुसार भूकम्पदेखि नै बन्दीपुरको पर्यटन सुस्ताएको हो। भूकम्पअघिसम्म ६० प्रतिशत हाराहारीमा विदेशी पर्यटक बन्दीपुर पुग्थे। विभिन्न संस्कृति झल्काउने होमस्टेमा बस्न र कला, संस्कृति, रहनसहनको आनन्द लिन पनि विदेशी पर्यटकहरू बन्दीपुर पुग्थे।

बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार छ। साना-ठूला गरी ७७ वटा होटल तथा रेस्टुरेन्ट र १२ वटा होमस्टे छन्। सेतोपाटी अनलाइन।