गण्डकी प्रदेशको रेसुङ्गा क्षेत्रमा थप ५ प्रजातिका चरा भेटिए
2023-02-15 15:48:02CRI
Share with:

गण्डकी प्रदेशस्थित गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरारहरु फेला परेका छन्। पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ। जस अनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो।

 

नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा ३५ प्रतिशत पाइन्छन् । रेसुङ्गामा २५८ प्रजातिका चरा पाइने पंक्षी संरक्षण संघले जनाएको छ । यसअघि २५३ प्रजातिका चराहरु फेला परेका थिए । रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन्। रेसुङ्गा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चरासम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले तयार गरेको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको हो ।

 

पुस्तक विमोचन गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गा क्षेत्रको विकास हुनु जिल्लाकै निम्ति गौरव रहेको बताउनुभयो। पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ। पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाको अबस्थाको बारेमा उल्लेख गरिएको छ। रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातिका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबै पक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बताउनुभयो।

 

दुर्लभ चरा भेटिए पनि बासस्थानमा जलवायु परिर्वतन, विद्युतीकरण, चोरी सिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको छ । रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७,९०३ हेक्टर रहेको छ ।

यी क्षेत्रमा विश्वव्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुरलगायत चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ। रेसुङ्गा धार्मिक, सांस्कृतिक, पर्यावरणीय, जैविक विविधताको भण्डार, जलाधार क्षेत्र, वैज्ञानिक महत्व राख्ने गुल्मीको पहिचान बोकेको स्थान हो ।

 

अनलाइनखबरका अनुसार भौगोलिक उचाइगत विविधताले गर्दा यस क्षेत्रमा ६८ प्रजातिका विरुवा, ३४ प्रजातिका झाडी, ४६ प्रजातिका जडीबुटी जन्य वनस्पतिहरु र विभिन्न प्रकारका वन पाइएको अध्ययनले देखाएको छ। रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडि सालको वन, कटुस चीलाउने मिश्रति वनदेखि शुद्ध खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रति समशितोष्ण चौडापाते वन अवलोकन गर्न सकिन्छ ।

 

यसैगरी रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ। ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

 

त्यस्तै यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २ हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थितिकीय प्रणली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैका बासस्थान भेटिन्छन् । यो क्षेत्र रतुवा,मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् ।

रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन्।